अब विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने!

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो । “झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।”

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित : आइतबार, चैत १६, २०७६१३:४३

सेनाद्वारा ‘कोभिड-१९ रेस्पोन्स एप्प-नेपाल’ प्रयोगमा, यसरी गर्नुहोस प्रयोग!