जुम्लामा विदेशबाट आएका नागरिक करीब ४०० पुगे

भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा जिल्लाभरि भारत र तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकीकृत तथ्यांक सोमबार सार्वजनिक गरी ३७१ भारत र १३ अन्य तेस्रो मुलुकबाट जुम्लीहरु जिल्लामा भित्रिएको जानकारी दिएको छ ।

तीमध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा छन् । यसैगरी ४६ जना होम क्वारेनइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा रहेको छ ।

तीन हजारको तापक्रम जाँच

भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनीहरुलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल र हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा

हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक नयाँ दिल्लीबाट जहाजा सँगै आएको भन्ने थाहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । उनी अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ ।

उनी काठमाडौँमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०६:२६

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता