स्थानीय सरकारले धमाधम राहत वितरण गर्दै

रुपन्देहीका स्थानीय सरकारले विपन्न परिवारका लागि धमाधम विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट राहत वितरण गर्न लागेका छन् । जिल्लाको कञ्चन गाउँपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट करिब डेढ क्विन्टल चामल खरिद गरी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

“विपन्न परिवारको पहिचान गरी बुधबारबाट चामल वितरण शुरु हुन्छ”, उनले भने। कोरोना भाइरसलाई परास्त गर्नका लागि उक्त कोषमा रु छ लाख नगद राहत सङ्कलन हुनेसमेत अध्यक्ष क्षेत्रीले बताए। गाउँपालिकामा भएको क्वारेन्टाइनमा अहिले ११ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले टाइगर ब्रोअरी इन्डष्ट्रिजले उपलब्ध गराउने १०० क्विन्टल चामल वितरण गर्ने तयारी भइरहेको जानकारी दिए। “चामल आइसकेको छैन, आउने बित्तिकै वितरण शुरु हुन्छ”, उनले भने। स्थानीय सहकारीले रु दुई लाख गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने आश्वासन आएको उल्लेख गर्दै अध्यक्ष चौधरीले मजदुरी गरेर खाने, विपन्न परिवारका लागि राहत सङ्कलन भइरहेको उल्लेख गरे।

उनले भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा ल्याउन खोज्दा झगडा गर्न थालेकोे र उनीहरुलाई क्वारेन्टाइमा ल्याउन स्थानीय प्रशासनले सहयोग नगरेको आरोप लगाए। अहिले सो गाउँपालिकाको क्वारेन्टाइनमा १५ जना रहेका छन् ।

सैनामैना नगरपालिकामा पनि अहिलेसम्म रु दुई लाख विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ । सो रकममध्ये खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, सैनामैनाबाट रु एक लाख, नवदीप बचत तथा ऋण सहकारी संस्थाबाट रु ७५ हजार र पर्रोहा बचत तथा ऋण सहकारी संस्था सैनामैनाबाट रु २५ हजार नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा सङ्कलन भएको छ ।

नगरपालिकाका सूचना अधिकारी केशव अर्यालका अनुसार रु चार लाख ४५ हजार अझै कोषमा जम्मा भएको छैन । “जिन्सी सङ्कलन कार्य वडा वडाबाट भइरहेको छ तर विस्तृत विवरण आइसकेको छैन”, उनले भने।

गैडहवा गाउँपालिकाले पनि विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण छिट्टै शुरु गर्ने तयारी भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकामा कति विपन्न समुदायका परिवार छन् भन्ने तथ्याङ्क आएपछि विपद् तथा प्रकोप व्यवस्थापन कोषको बजेटबाट चामल, दाल खरिद गरेर वितरण गरिने जानकारी दिए। गाउँपालिकाको क्वारेन्टाइनमा आठजना छन् ।

सियारी गाउँपालिकाले पनि राहत वितरणका लागि विपन्न परिवारको पहिचान भइसकेकाले वितरणको तयारी भएको जनाएको छ । वितरणका लागि १०० क्विन्टल चामल, १३ क्विन्टल दाल र १२ क्विन्टल नुन खरिद भएको र त्यसमा पनि छाक टार्न समस्या भएका अति विपन्न परिवारलाई एक साताका लागि राहत वितरण गरिने अध्यक्ष अयोध्या थारुले जानकारी दिए। रु २५ लाखको विपद् कोषबाट बजेट खर्च हुने गरी सो राहत वितरण गर्न लागिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रुपन्देहीका स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनको क्षमता ३०० जनाको रहेको र क्वारेन्टाइमा रहेकामध्ये अधिकांशको नेगेटिभ रिपोर्ट आएपछि घर फर्किसकेको जानकारी दिए।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०७:१८

इटालीमा एकैदिन ८१२ को मृत्यु अमेरिकामा सङ्क्रमितको संख्या १ लाख ६४ हजार