म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई पठाइयो घर

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार ४४२ र आइतबार २४७ मजदूरलाई गृहजिल्ला पठाइएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए । घर पठाइएका मजदूरमा विराटनगर, पोखरा, काठमान्डौ, मकवानपुर, झापा, कैलाली, दाङ, बाँके, सिन्धुपाल्चोक, बर्दिया, उदयपुर, स्याङजा, पर्सा र वीरगञ्जका छन् । गृह मन्त्रालयको परिपत्रअनुसार ठेकेदार कम्पनीले घरसम्म पुर्याउने व्यवस्था मिलाएपछि प्रशासनले त्यहाँसम्म जाने सवारीसाधनलाई पास दिएको सहायक प्रजिअ सुवेदीले बताए। अझै केही आयोजनाका मजदूरलाई घर पठाउनका लागि सम्बद्ध निर्माण कम्पनीले सम्पर्क गरेका प्रजिअ ज्ञाननाथ ढकालले बताए।

लक डाउन कार्यान्वयनलाई प्रभावकारी बनाउन चैत ११ गतेदेखि म्याग्दीमा स्थानीय प्रशासनले चैत २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण म्याग्दीमा सञ्चालित जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवन र नदी नियन्त्रण योजनामा काम गर्न आएका देशका विभिन्न जिल्लाका मजदूर अलपत्र परेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन् । रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सबस्टेशन निर्माणाधीन छन् । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताएका छन्।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६११:१०

पाटन अस्पतालले अन्य देशसँग प्राविधिक सल्लाह गर्ने