जिल्लामा रहेका अस्पतालले कोरोना सङ्क्रमणको आशङ्का गरिएका बाहेकका बिरामीलाई सेवा दिन नसकेको स्थानीय तहका प्रमुखले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहहरुको समन्वयात्मक बैठकमा स्थानीय तहका प्रमुखले कोरोना सङ्क्रमणको डरका कारण अन्य रोगका बिरामीले सेवा पाउन नसकेको बताएका हुन् ।
कोरोना भाइरसका बिरामीलाई लक्षित गर्दा अन्य रोगका बिरामीले उपचार नपाउने स्थिति आएको उनीहरुको भनाइ थियो । बैठकमा राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले भने “केही दिन अघि दुई जना बिरामीले उपचार नपाई फर्किएका छन् । कोरोनाको त्रासको समयमा अन्य बिरामीले उपचार नपाउने हो ?” उनले थपे, “कोरोना लागेका बचाउन खोज्दा अन्य रोगका बिरामी मर्ने स्थिति आयो ।” टाढाबाट अन्य रोगका बिरामी आउँदा उपचार नपाउने गरेको भन्दै उनले यसलाई रोक्नु आवश्यक रहेको बताए ।
इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले कोरोना सङ्क्रमणपछि आएका अन्य रोगका बिरामीले निजी अस्पतालमा मात्रै नभएर सरकारी अस्पतालमा समेत सेवा नपाएको बताए। उनले भने, “केही दिन अघि म आफैँ बिरामी परेर अस्पताल आएको थिए । आउँदा चिकित्सक भेट्न सकिन ।” जनतालाई निजी तथा सरकारी अस्पतालले सेवा दिनुपर्ने उनको भनाइ थियो ।
हरेक स्थानीय तहहरुले आवश्यकताअनुसार एम्बुलेन्स र सवारीसाधन तयारी अवस्थामा राखेको र सबैै तहमा क्वारेन्टाइन बनाइएको सो अवसरमा जानकारी दिइएको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेको समयमा जिल्लामा प्रवेश गर्ने भारतीय सवारीसाधनमा कडाइ गर्न उनीहरुले माग गरेका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केही दिन अघि अस्पतालले दुई जना बिरामी फर्काएको र ती अस्पताललाई अब यस्तो गरे बन्द गर्न निर्देशन दिइएको जानकारी दिए । उनले बिरामी फर्काउन कसैले नपाउने र सबै खालका बिरामीको उपचार हुनुपर्ने बताए । जिल्लामा भारतीय सवारीसाधन आएको भन्ने कुरालाई मध्यनजर गर्दै तरकारी बजार (सब्जीमण्डी)समेत बन्द गराइएको उनले बताए ।
सरकारले निर्देशन गरेअनुसारका तीन वटा समितिले आजैदेखि काम शुरु गरेको उनको भनाइ थियो । बैठकमा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य, जिल्लामा रहेका सात वटै स्थानीय तहका प्रमुख, स्वास्थ्य कार्यालय चितवनका प्रमुख, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, चिकित्सकको सहभागिता रहेको थियो ।
बैठक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकले कोरोना भाइरसको परीक्षण ल्याब स्थापना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गर्ने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला चितवनमा स्थापना गर्न पहल गर्ने, राहत वितरणका सन्दर्भमा स्थानीय तहमा एकरुपता कायम गर्नेलगायतका सातबुँदे निर्णयसमेत गरेको छ ।