अस्पतालमा आउने बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आग्रह

रुपन्देहीमा क्रियाशील व्यावसायिक संस्थाहरुको सञ्जालले अस्पतालमा आउने बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । सञ्जालको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितिमा सहजरुपमा आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको हो ।

बैठकले भारतका विभिन्न देशबाट स्वदेश फर्किएका नेपाली दाजुभाइलाई आवश्यक स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहमा नै क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनसमेत प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ ।

बैठकले आवश्यक वस्तु ढुवानी सहजीकरणको लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेलाई आवश्यक समन्वयको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तैगरी प्रदेश सरकार तथा स्थानीय तहमा स्थापित राहत कोषमा संघसंस्थाले सक्दो आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी सचिव मदनकुमार कार्कीले जानकारी दिए। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले कोरोनाको सङ्क्रमणको कारण देखाएर अन्य रोगका बिरामीको उपचारमा लापरबाही गर्न नहुने बताए।

बैठकमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधीराम खरेल, साना तथा मझौला ढुवानी व्यवसायी समितिका अध्यक्ष लक्ष्मण क्षेत्री लगायतले नागरिकलाई स्वास्थ्य सेवा दिने सवालमा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरे।

प्रकाशित : बुधबार, चैत १९, २०७६०६:२२

कास्कीमा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा