भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि भारतसँग सिमाना जोडिएका स्थानीय तहको क्वारेन्टाइन भरिभराउ

भारतसँग सिमाना जोडिएका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ भएका छन् ।

भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि अहिले श्ययाको अभाव हुन थालेको छ । भारतीय सीमासँग जोडिएका कपिलवस्तको बिजयनगर गाउँपालिकाले १ सय १७ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाइनमा भारतबाट आएका १ सय ३ जना राखिएको गाउँपालिकाले जनाएको छ । खुल्ला सिमानाका कारण भारतबाट भागेर आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भइरहेको बताइएको छ ।

जवावैराठ, डालपुर, ठाकुरापुर लगायत विभिन्न नाका नाकाबाट थुप्रै नेपालीहरु आउने आउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताए। शुरुमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको थियो तर भारतबाट आउने नेपालीहरुको सङ्ख्यामा वृद्धिभएपछि श्ययाको सङ्ख्या बढाइएको उनले बताए।

अहिले गाउँपालिकास्थित ३ वटा माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ठाउँको अभाव हुँदा विद्यालयलाई प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए। क्वारेन्टाइनमा बस्ने सबै जनाको निःशुल्क खाने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै जिल्लाको शुद्धोधन गाउँपालिकाले निर्माण गरेको ६० श्ययाको क्वारेन्टाइनमा ४९ जना रहेका छन् । महाराजगञ्ज नगरपालिकाले तयार पारेको ८० श्ययामा ७० जना रहेका छन् । शिवराज नगरपालिकाले निर्माण गरेको १९ श्ययामा १५ जना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। दैनिक रुपमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या वढिरहेकाले श्यया थप गर्ने योजना रहेको उनले बताए।

“क्वारेन्टाइनमा अधिकांश भारतबाट फर्किएर आएका नागरिक छन्, अब नगरका अन्य तीन ठाउँमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा छौ”, पौडेलले भने, “ क्वारेन्टाइनमा बसेका सबैको अवस्था सामान्य छ ।”

सीमासँग जोडिएको कृष्णनगर नगरपालिकाले पनि क्वारेन्टाइनमा श्ययाको सङ्ख्या बढाउने तयारी गरेको छ । अहिले सबै वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको र भारतबाट फर्किएर आउने सबै नेपालीलाई सुरक्षित तरिकाबाट उनीहरुलाई आफ्नो जिल्लामा पठाइएको नगरप्रमुख रजतप्रताप शाहले बताए।

जिल्लाका १० स्थानीय तहमा ५ सय ६ श्ययाको क्वारेन्टाइन निर्माण भएका छन् । मङ्गलबारसम्म ३ सय ७३ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुयभो । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। जिल्लामा ८ वटा आइसोलेशन कक्ष बनाइएको छ । क्वारेन्टाइनमा बसेको कसैलाई पनि आइसोलेशन कक्षमा राख्ने अवस्था नआएको प्रजिअ पौडेलले बताए।

प्रकाशित : बुधबार, चैत १९, २०७६०७:५०

भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि सीमामा अलपत्र