प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहत्ताले जानकारी दिए । बाँकी नमूनाको जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए।
मेहत्ताका अनुसार झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, संखुवासभाबाट एक, भोजपुरबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट चार र पाँचथरबाट तीन जनाको नमूना सङ्कलन भएको छ । हिजो मात्रै मोरङबाट दुई, सुनसरीबाट एक, भोजपुरबाट दुई र उदयपुरबाट तीन जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पठाइएको मन्त्रालयका प्रवक्ता डा मेहत्ताले जानकारी दिए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना सङ्क्रमण परीक्षण शुरु भएपछि रिपोर्ट छिटो आउन थालेका र हिजो मात्रै १२ जनाको रिपोर्ट आएको बताइएको छ । डा. मेहताका अनुसार प्रदेशभरिमा आज सम्म कोरोना भाइरसका शङकास्पद ११९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १०६, मोरङ र झापाबाट पाँच÷पाँच जना छन् । आईसोलेशनमा तीन पुरुषसहित नौ जना बिरामी भर्ना भएकोमा ओखलढुङ्गा, उदयपुर र पाँचथरबाट दुई÷दुई जना महिला र सोलुखुम्बु, पाँचथर र ताप्लेजुङबाट एक÷एक जना पुरुष आईसोलेशनमा भर्ना भएका हुन् ।
प्रदेश नं. १ का ४३ अस्पतालले ३८५ शय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए। उनका अनुसार प्रदेशभरमा ३६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा हिजो एक हजार २४६ बिरामी आएको डा. मेहताले भने। प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामग्री ५०७ थान वितरण भएको छ ।
आइसोलेशनको निर्माण तीव्र गतिमा
यसैगरी, सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ को राजधानी विराटनगरस्थित नेशनल ट्रेडिङमा ५० शय्याको आइसोलेशनको निर्माण तीव्र गतिमा भइरहेको र यो आइसोलेशन छिट्टै सञ्चालनमा आउने बताएको छ ।
उपचार कोष
साथै, कोरोन उपचार, रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकारले स्थापना गरेको रु १० करोडको कोषमा सामाजिक सङ्घसंस्था, बैँक, वित्तीय संस्था र व्यक्तिहरुले रु एक करोड ९४ हजार, प्रदेशसभाका सभामुख र उपसभामुखले रु एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले रु २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले रु ११ लाख, हुलास वायरले रु ११ लाख, अरिहन्त मल्टिफाइवरले रु ११ लाख, रघुपति जुटमिलले रु १० लाख रुपैयाँ जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुबेदीले जानकारी दिए ।
उनले सिद्धार्थ बैँकले रु १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले रु सात लाख, कृषि विकास बैँक लिमिटेडले रु पाँच लाख, नेपाल बैङ्क लिमिटेडले रु पाँच लाख, ट्रान्सनेपाल फ्राइट सर्भिसेजले रु पाँच लाख, एसआइडीवीएलबाट रु दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट रु २० हजार र रामचन्द्र प्रसादबाट रु २० हजार र स्थानीय समाजेसेवी एवं उद्योग राजेन्द्र राउतले रु ११ लाख सो कोषम जम्मा गरी प्रदेश सरकारलाई कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा बल पुग्ने विश्वास व्यक्त गरे।