लकडाउन कृषि उत्पादनले बजार पाएन, तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो

कोरोनो भाइरस (कोभिड —१९ ) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।

रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन अर्याल बताउछन्। “अण्डा उत्पादन भइरहेको छ, बिक्री गर्न पाइएको छैन, १२० कार्टुन अण्डा मौज्दात छ तर बिक्री नहुँदा व्यवसाय धान्नै मुस्किल परेको छ” उनले भने । उनको फार्ममा हाल तीन हजार लेयर्स जातको कुखुरा छ ।

दाना मात्रै दैनिक छ बोरा खुवाउनुपर्छ तर अण्डा बेच्न नपाउँदा ठूलो समस्या परेको हुँदा बिहान साँझको समय तालिका बनाएर बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाइदिन उनी आग्रह गर्छन्। लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारीसाधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह्रो परेको छ ।

रामपुर–८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक सात पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले गर्दा फार्ममा रहेको ६० पेटी अण्डा बिक्री गर्न नपाएको उनको गुनासो छ । भैँसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको शुरुका चार दिन दूध दुहेर भैँसीलाई नै खुवाउन बाध्य भए। दूध बिक्री गर्न बजार जान नपाएपछि करिब ६०० लिटर दूध दुहेर भैँसीलाई नै खुवाएको उनी बताउछन् । “शुरुका चार दिन धेरै समस्या भयो, दूध दुहेर भैँसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु” अर्यालले भने ।

उनको फार्ममा हाल ५९ वटा उन्नत जातका भैँसी छन् । उनलेदैनिक १६० लिटर दूध बिक्री गर्छन् । लकडाउनले भँैसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उनको भनाइ छ । पहिलेको तुलनामा आधा दानापानी खुवाउन कम गरेका छन् । रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गरेका काक्रो रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्री गरेका छन्  ।

लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्री गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र सञ्चालनमा आएको गौशालामा हाल १३५ गाई छन् । गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयसँग घाँसपात दाना जुटाइदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए।

रामपुर नगरपालिकाभित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०÷२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ ।

प्रकाशित : बिहिबार, चैत २०, २०७६११:०९

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह