गलत रिपोर्टका कारण विजयको गयो ज्यान, कारवाही र क्षतिपूर्ति माग

सांकेतिक तस्विर

नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको ज्यान गएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

यही चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेशलन मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृ’तकका भाइ महेशले बताए। बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृ’तकका अर्का भाइ राजाले बताए।

नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ ।

चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उनले भने। “बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृ’त घोषणा गरियो”, महेशले भने, “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।”

त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाएइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उनले बताए। उनका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृ’तककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् ।

बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गरे।

उनले यस्तो गैर जिम्मेबार नेशनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारवाहीको माग गरे । कोरोना पुष्टि भएको रिपोर्ट दिने नेशनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उनले बताए ।

अस्पताललाई सामग्री प्रदान

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले कलैया अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बारालाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामानह प्रदान गरे। मन्त्री सोनलले कलैया अस्पतालका प्रमुख डा वीरेन्द्र मण्डललाई ४०० थान ग्लोभ्स, ३० वटा पिपइ, १०० थान मास्क र कोरोना सचेतनाका लागि एक थान पुस्तक प्रदान गरेका हुन्।

त्यसैगरी उनले जिल्ला जनस्वास्थ्य कार्यालय बाराका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितलाई ५०० थान मास्क, २० वटा पिपिइ, १०० ग्लोभ्स र एउटा सचेतना पुस्तक प्रदान गर्नुभएको थियो ।

प्रकाशित : शुक्रबार, चैत २१, २०७६०४:०५

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी जहाज नेपाल फर्किए