लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका व्यक्तिहरु क्वारेन्टाइनमा

भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो । भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो ।

विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो । ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए ।

आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिए। उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए ।

ब्लडबैंकमा रगत अभाव

डडेल्धुरा रेडक्रस शाखाले सञ्चालन गरेको ब्लडबैंकमा रगत अभाव भएको छ । हालसम्म करिब आठ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लडबैंक इन्चार्ज गणेश ऐरले जानकारी दिए। पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए।

गाउँपालिकाको १० प्रतिशत छुट

डडेल्धुराको अजयमेरु गाउँपालिकाले बजार मूल्यको १० प्रतिशत छुटमा घरमै दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिका सदरमुकाम भद्रपुरमा बिहीबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। गाउँपालिकाका सबै बस्तीमा प्रत्येक घरधुरीका लागि दैनिक उपभोग्य सामग्री बजार मूल्यमा १० प्रतिशत छुट र ढुवानी छुटसहित उपलब्ध गराउने अध्यक्ष भट्टले बताए।

प्रकाशित : शुक्रबार, चैत २१, २०७६०४:४९

आज बिहान मृ’त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने, नतिजा नआएसम्म शरीरलाई छुट्टै सुरक्षित राखिने