अधिकांश स्थानीय तहमा कोषबाट राहत वितरण शुरु

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. ५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् ।

लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई कोषबाट राहत वितरण थालिएको हो । स्थानीय तहले आ–आफ्ना पालिकामा राहतकोष स्थापना गर्नाका साथै जनतालाई राहतसमेत वितरण थालेका हुन् । दाङको गढवा गाउँपालिकाले रु ५० लाखको राहतकोष स्थापना गरेको छ । कोषका लागि गाउँपालिकाले रु ५० लाख जम्मा गरेको छ । बिहीबारको बैठकले गाउँपालिकाको विभिन्न शीर्षकमा अहिलेसम्म सम्झौता नभएका कार्यक्रमको बजेटलाई रकमान्तर हुुनेगरी विपद् राहत कोष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।

गाउँपालिकामा प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम मजदुुरी गरेर खानेहरुको तथ्याङ्क सङ्कलन गरी तीन दिनभित्र पहिलो चरणको राहत प्याकेज वितरण गर्ने निर्णयसमेत गाउँपालिकाको बैठकले गरेको छ । किसानको खेती भित्र्याउने समय भएकाले खेतबारी जोत्ने ट्र्याक्टर, दाउने थे«सर र साँझ बिहान कुटानपिसानका मिल सञ्चालन गर्न दिनेसमेत निर्णय गरेको छ ।

प्यूठानको ऐरावती गाउँपालिका–४ को बिहीबारको बैठकमार्फत वडाका जनप्रतिनिधिले एक महिनाको भत्ताबराबरको रकमले विपन्न परिवारलाई राहतस्वरुप सहयोग गर्ने निर्णय गरिएकोे वडाध्यक्ष शङ्करबहादुर भण्डारीले जानकारी दिए।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका २२२ अतिविपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका अतिविपन्न परिवारलाई सिस्ने गाउँपालिको कार्यपालिकाको बैठकबाट राहत प्याकेजको घोषणा गरेको हो ।

आर्थिकरूपमा अतिविपन्न, असहाय, अपाङ्ग, गरिब तथा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्षकुमारी बरालले बताए। राहत वितरणका लागि गाउँपालिकाभित्रका अतिविपन्न परिवारको पहिचान कार्य सकिएकाले २÷३ दिनभित्रै खाद्यान्न वितरणको कार्य पनि शुरु गरिने उनले बताएका छन् ।

रुकुमपूर्वकै भूमे गाउँपालिकाले पनि मापदण्ड बनाई विपन्न परिवारको विवरण सङ्कलन गरेर राहत प्याकेजको घोषणा गर्ने बताएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि अहिले राहत वितरणको लागि अतिविपन्न परिवारको विवरण सङ्कनल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र क्षेत्रीले बताए।

प्रकाशित : शुक्रबार, चैत २१, २०७६०५:१६

कोरोना भाइरसको प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा पनि, दैनिक १७.५ प्रतिशत दूध कम खपत