धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल आजबाट तीन घण्टाका लागि मात्रै खुल्ने भएका छन् ।
शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले आजबाट लागू हुने गरी अतिआवश्यकभित्र पर्ने पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए।
खाद्य उद्योग निरन्तररूपमा सञ्चालन गर्न दिने र यस्ता उद्योगका कामदारलाई आवतजावतका लागि स्थानीय सरकारसँग समन्वय गर्न सकिने नगरप्रमुख वडको भनाइ छ ।
त्यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ग्राहकसँग सामाजिक दूरी तीन फिट कायम गर्न अनुरोध गरिएको छ । दैनिक उपभोग्य सामग्रीको ‘होमडेलीभरी’ गर्न चाहने व्यवसायीलाई भने स्थानीय सरकारसँग समन्वय गरेर कारोवार गर्न दिने निर्णय भएको जनाइएको छ ।
यस्तै बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरूपमा रोक लगाउनेसमेत निर्णय भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।