घुम्ती पसलबाट १८ थरि कम्पनीको ग्यास बिक्री गर्दै, अशक्तलाई पहिलो प्राथमिकता (फोन नं. सहित)

Empty cooking gas cylinders kept for refilling outside a gas depot in Anamnagar, Kathmandu on Thursday, March 24, 2016. Photo: Skanda Gautam/ THT

सरकारले निगममार्फत बिक्री गरिने ग्यासका लागि बिहान ७ बजेदेखि नै कर्मचारी साविकको नेशनल ट्रेडिङको कार्यालयमा पुग्छन् । नेपाल आयल निगमका सहायक प्रबन्धक विकास बखतीका अनुसार निगमका कर्मचारीले दैनिक १२ घण्टा खटेर सेवा दिइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारको योजना अनुसार नै काम भएको उनले जानकारी दिए।

कर्मचारीलाई खाना, खाजाको समेत सोही स्थानमा प्रबन्ध गरिएको छ । निगमको संयोजनमा विभिन्न १८ कम्पनीको ग्यास बिक्री गरिएको छ । यस्तै घुम्ती पसल चलाएर पनि सेवा दिइएको छ । निगमले त्यसका लागि आफ्नै र अन्य ग्यास कम्पनीको सवारी साधन प्रयोग गरेको छ ।

अशक्तलाई पहिलो प्राथमिकता, ११४६ मा निःशुल्क फोन

निगमले विशेष गरी सुत्केरी क्वारेन्टाइनमा बसेका, अति अशक्त, फरक क्षमता भएका, हस्पिटलमा उपचार गरिरहेका, वृद्धवृद्धा, जान सक्ने अवस्था नभएका नागरिकलाई घरमै ग्यास पुर्यादिएको छ । दैनिक १ हजार ५०० सिलिन्डरको माग भए पनि अशक्तका हकमा विशेष व्यवस्था गरिएको छ । उनीहरुको घर वा बस्तीसम्म नै ग्यास लगेर सेवा दिइएको बखतीको भनाइ छ ।

अन्यका हकमा नजिकको बिक्री केन्द्र वा बिक्रेता कहाँ सम्पर्क गर्न भनिएको छ र सोहीअनुसार पुग्दो मात्रामा ग्यास उपलब्ध भएको छ । केहीले भने आफूहरुलाई लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ गर्ने भएकाले घरमै ल्याइदिनसमेत भनेको उनको भनाइ छ । निगमले यही चैत १८ गतेदेखि त्यस्तो सेवा दिएकामा पहिलो दिन १५०, दोस्रो दिन १९ गते १७३, २० गते २६३ ग्यास अशक्तलाई उपलब्ध गराएको छ । यस्तै २१ गते मात्रै विभिन्न पाँच वटा टोलीले २७२ वटा सिलिन्डर उपलब्ध गराएको छ ।

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन वटा हटलाइनका रुपमा मोबाइल नम्बरसमेत सञ्चालनमा छन् । निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईका अनुसार विपद्को समयमा सामान्य नागरिकभन्दा बढी समस्यामा पर्ने, वर्ग तथा समुदायलाई विशेष ध्यान दिएर सेवामूलक तवरले काम गरिएको छ ।

केही उपभोक्ताले भने लकडाउनको कारण देखाउँदै घरसम्म ल्याइदिनसमेत भनेको उनको भनाइ छ । निगमको प्रतिनिधिले कतिपय ठाउँमा कार्डको फोटो तथा भिडियोसमेत खिचेर ल्याएको समेत उनले  जानकारी दिए।

दैनिक एक लाख ३० हजार सिलिन्डर

निगमले बजारमा दैनिक जसो नै एक लाख ३० हजार सिलिन्डर ग्यास पठाएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै भारतबाट २५ वटा बुलेट काठमाडौँ आएका छन् । निगमका अनुसार देशभर कुल एक करोड २० लाख सिलिन्डर छन् । काठमाडौँ उपत्यकालाई सामान्य अवस्थामा दैनिक ४० हजार सिलिन्डर जरुरी पर्ने छ । “ग्यास कम भएर आधा सिलिन्डर ग्यास दिइएको नभई, उपभोक्ताको घरमा रहेको सिलिन्डर बाहिर निकाल्न यस्तो विधि अपनाइएको हो”, पौडेलले भने।

आयात उल्लेख्य बढे पनि सिलिन्डर खाली नहुँदा बोटलिङमा समस्या पर्ने देखिएको उनको भनाइ छ । ग्यास बिक्रीका सरकारको सञ्जाल नभएको अवस्थामा पनि विशेष तवरले बिक्री गर्दा आउने अनुभवलाई संस्थागत गर्न लागिएको उनको भनाइ छ । निगम आफैँले सिलिन्डर ल्याउनुपर्दा के कसरी बिक्री वितरण गर्नुपर्छ भन्ने ज्ञान लिनका लागिसमेत सबै कम्पनीको ग्यास एकै स्थानमा राखेर बिक्री गरिएको उनको भनाइ छ ।

ग्यासमा कुनै समस्या छैन : मन्त्री भट्ट

अनुगमनमा पुग्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारको व्यवस्थापन तथा उद्योगी व्यवसायीको इमान्दार प्रयत्नका कारण ग्यास बिक्री वितरण सहज बनेको जानकारी दिए । मन्त्रालयका सबै टिम, निगमका कर्मचारी एवं उद्योगी तथा व्यवसायीको साझा प्रयत्नका कारण आफूहरु विषम अवस्थामा समेत सहज आपूर्ति गराउन सकेको उनको भनाइ छ । उनले ग्यास अत्यधिक मात्रामा आयात भएकाले हाल राख्ने ठाउँसमेत अभाव हुने अवस्था आएको जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमणको डर बढेपछि उपभोक्ताले सञ्चिति गरेका कारण सिलिन्डर घरमै बस्ने अवस्था आएकाले तत्कालका लागि आधा ग्यास दिएर भए पनि सिलिन्डर बाहिर निकाल्न लागेको उनको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले मन्त्रालयको प्रभावकारी निर्देशन र नेतृत्वका कारण हरेक डिपोमा ग्यास सहज रुपमा उपलब्ध भएको जानकारी दिए। उनले भने, “मैले हरेक दिनजसो देशैभरको विवरण लिएको छु । कुनै पनि स्थानमा ग्यास पाइएन भन्ने अवस्था छैन । हामीले सहज रुपमा ग्यास दिएका छौँ ।”

भारतबाट पनि नियमित रुपमा ग्यास आयात भइरहेको जानकारी दिँदै उनले प्रहरी प्रशासनबाट पनि आफूहरुलाई सहज सहयोग भएको उल्लेख गरे। “चार पाँच दिनअघिको जस्तो चाप र भीड छैन । डिलरमा ग्यास छ, अब आधा सिलिन्डर दिने प्रणाली हटाउनुपर्छ । धन्यवादको पात्र नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो । हामीले सुरक्षाका सबै उपाय अपनाएर डिलर खोलेर ग्यास बिक्री गरेका छौँ ।”

प्रकाशित : शनिबार, चैत २२, २०७६०९:५१

सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग