भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ६८, लगभग ३ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको ज्यान गएर कुल मृ’तकको सङ्ख्यामा बृद्धि भएको हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ ।

पछिल्लो समयमा ज्यान गएका मध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् ।

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै ज्यान जानेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको ज्यान गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि धेरै गुजरातमा नौ जनाको ज्यान गएको छ भने तेलङ्गनामा सात जनाको ज्यान गएको विवरण छ ।

त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ-छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन÷तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई-दुई जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक÷एक जनाको ज्यान गएको छ ।

कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना सङ्क्रमित भेटिएका छन् । अन्य प्रदेशमा पनि सङ्क्रमितहरु रहेका भएपनि अहिलेसम्म त्यहाँको सङ्क्रमित सङ्ख्या न्यून रहेको छ ।

प्रकाशित : शनिबार, चैत २२, २०७६१२:१६

स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले सुत्केरी र किरिया बिदा बाहेक अरु बिदा नपाउने