कोरोनाको कहर किसानमा: दानाको अभाव, दूध उत्पादन पनि घट्यो

पाल्पा, माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्थे। दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उनलाई अहिले भने दानाको अभावले अप्ठेरोमा पारेको छ । उनले गाईको दाना नपाएको धेरै दिन भयो । घाँसपातले मात्र नपुग्ने भएपछि दूध उत्पादन घटेको छ । त्यसैले भट्टराइ यतिखेर चिन्तामा छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को नेपालमा सम्भावित सङ्क्रमण रोक्न सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि यतिखेर शहरबजार मात्र होइन ग्रामीण क्षेत्रका किसान पनि नराम्ररी प्रभावित भएका छन् । कतै दूधले बजार नपाउँदा सडकमा दूध पोखेका त कतै अन्य कृषिजन्य उत्पादनले बजार नपाएका समाचार आइरहेका छन् । पाल्पाका किसानको समस्या पनि यस्तै छ । यहाँका धेरै किसानलाई अहिले पशुलाई दाना नपाइने समस्याले सताएको छ ।

लकडाउनसँगै गाईभैँसीलाई आवश्यक पर्ने पराल तथा दाना आपूर्ति हुन नसक्दा अब के खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कातर्फ आवश्यकताअनुसारको दाना खुवाउन नपाएकोले दूध उत्पादन पनि ह्वात्तै घटेको छ । “सरकारले एक्कासी लकडाउनको घोषणा गरेपछि दानाको बन्दोबस्त गर्नै पाइएन, गाईलपाई दाना जति खुवाउन सक्यो उति धेरै दूध आउने हो, अहिले त दाना खुवाउनै नपाउँदा दिनदिनै दूध घट्दै गएको छ ।” उनले दुःखेसो गरे।

भट्टराईले बजारमा दैनिक एक सय लिटर दूध बिक्री गर्दै आइरहेकोमा लकडाउनपछि हाल ७० देखि ७५ लिटर मात्र दूध उत्पादन हुने गरेको बताए। दानाको अभाव भएपछि भकारीमा राखेको धान झिकेर कुटेको र गाईलाई चामलको पीठो खुवाउनु परेको उनले सुनाए। “गाईलाई खुवाउने दाना जति सबै सकियो, लकडाउनको समय अझै थपिँदै गएको छ, गाडी चलेका छैनन्, ल्याउने अन्य माध्यम पनि छैन,” उनले थपे, “गाईले दूध घटाउँदै जान थालेपछि अहिले दानाको विकल्पमा चामल तथा पीठो खुवाउने गरेको छु ।”

लकडाउनका कारण कृषक समस्यामा परेको बताउँदै उनले सरकारले दानापानी कृषकको घरदैलोसम्म लैजाने व्यवस्था गरिदिन सरकारसँग आग्रह पनि गरे। आँफुले सात वर्ष अघिदेखि गाई पाल्न थालेको बताउने उनको यस्तो समस्या पहिलोपटक भोगेको अनुभव छ ।

उनको फार्ममा हाल ११ गाई छन्, तीमध्ये दुहुना नौवटा छन् । दानाको अभावमा दैनिकजसो २५ देखि ३० लिटर दूध उत्पादन घटेपछि उनी चिन्तित छन्। रुप्से क्षेत्रमा मात्र झण्डै २२ जना दूध उत्पादक कृषकले यस्तो समस्या भोग्दै आएका छन् । पशु चौपायालाई पर्याप्त दाना खुवाउन नपाउँदा उत्पादन घटेकोमा कृषकले गुनासो गरेका छन् । गाउँमै बसेर केही व्यवसाय गरौँ भनेर पशुपालनमा लागेका कृषक यतिखेर भने लकडाउनको मारमा परेका छन् ।

रामपुर नगरपालिका–६ का अगुवा कृषक कृष्णकुमार अर्याल पनि दूध उत्पादन कम हुदै गएकोमा चिन्तित छन् । उनको फार्ममा हाल उन्नत जातका ३० भैँसी छन् । उनले पनि दैनिक करिव १ सय लिटर दूध लिने गरेकोमा हाल लकडाउनको समयमा दानाको अभाव सिर्जना हुन थालेपछि घटेर ८० लिटरमा पुगेको बताए। “धेरै पशु भएपछि थोरै दानाले निर्वाह गर्छु भनेर पनि हुने रहेनछ, दैनिकजसो दुई÷तीन बोरा जति दाना चाहिएकै हुन्छ,” उनले भने, “बाहिरबाट ढुवानी गरेर दाना ल्याउन पाइएको छैन यसरी दाना खुवाउन नपाएपछि दिनानुदिन दूध घट्दै छ ।”

घाँसपातले मात्र दूध उत्पादन बृद्धि नहुने हँुदा पशुको लागि दाना नभई नहुने भएकाले लकडाउनसँगै देखिएको दाना अभावको समस्या क गरौँ भनेर सोच्नै नसकेको अर्यालले बताए। रामपुर नगरपालिका–४ सदावर्त बस्ने विनोद श्रेष्ठले लकडाउन लम्बिन थालेपछि आफुसँग थोरै मौज्दात रहेको दाना पनि खुवाउन कमगर्दै गएको बताए। उनले दूध उत्पादनलाई नै आम्दानी बनाएर एक वर्षअघि गाई तथा भँैसीपालन व्यवसाय थालनी गरेका हुन्।

दूधालु पशुलाई प्रशस्त दानापानी खुवाउन नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आउन थालेको उनले गुनासो गरे । “ठुलो लगानीमा पशुपालन व्यवसाय थालनी गरियो, बाहिरबाट ल्याइएका उन्नत जातका पशुलाई स्थानीय पशुलाई जस्तो सामान्य दाना दिएर टार्छु भनेर पनि नहुदो रहेछ, एक छाक दाना तलमाथि गरियो भने स्वाट्टै दूध घटाइहाल्ने रहेछ” श्रेष्ठले भने ।

विपद्को यस्तो बेलामा त स्थानीय सरकार तथा राज्यका निकायले दानापानी, चोकर आदि गोठगोठसम्म लैजाने प्रबन्ध गरिदिनुपर्ने कृषकको माग छ । दूध बेचेर केही गर्छु भन्ने सोँच राखेर व्यवसाय गरेका कृषक लकडाउनले गर्दा व्यवसाय नै चौपट हुने अवस्थामा आएकोमा चिन्तित छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै सात वटा दुग्ध डेरी सञ्चालनमा छन् । यहाँ दैनिक कम्तीमा पनि एक हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको थियो । तर अहिले त्यति दूध छैन, घटेर दैनिक एक हजारमा सीमित भएको छ । अहिले यहाँ दैनिक १ हजार मात्र दूध सङ्कलन भइरहेको छ ।

बेझाड बजारको अमृत दुग्ध भण्डारमा दैनिक ३०० पचास लिटर दूध सङ्कलन हुने गथ्र्यो । हाल यहाँ दुईको हाराहारीमा मात्र मात्र सङ्कलन हुन्छ । लकडाउन सुरु भएपछि कृषकबाट दूध कम आउन थालेको डेरी सञ्चालक गणेश आचार्यले बताए। “पहिलाको अनुपातमा कृषकबाट १ सय लिटर दूध कम आएको छ,” उनले भने, “दूध कम किन भयो भनेर सोध्दा कृषकहरूले दाना, चोकर खुवाउन पाइएको छैन भने।”

पशुले दूध कम दिन थालेपछि बिहान साँझ दुई पटक डेरी पसलमा दूध बिक्रीगर्ने कृषकले एक समय मात्र बिक्री गर्न थालेकका छन् । रामपुरमा गाईको दूध खरिदमुल्य प्रतिलिटर ५२ देखि ६० रुपैयाँ छ भने भैँसीको प्रतिलिटर ६५ देखि ७५ रुपैयाँ छ । बिक्री मुल्य गाईको रु ७५, भैँसीको रु ८५ रहेको दुग्ध डेरी व्यवसायीहरु बताउँछन् । कृषकबाट दूध कम आउन थालेपछि छुर्पीको उत्पादन भने बन्द नै गरिएको छ । दूध नै कम भएपछि छुर्पी उत्पादन बन्द भएको उनीहरुको भनाई छ ।

पाल्पा जिल्लामा दैनिक छ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ ठूलो मात्रामा दूध उत्पादन गर्ने संस्था डुम्रे दुग्ध उत्पादक सहकारी तिनाउ र चिनारी दुग्ध उत्पादक सहकारी तानसेन हुन् । डुम्रे दुग्ध उत्पादक सहकारीले मात्र दैनिक तीन हजार लिटर र चिनारी दुग्ध उत्पादक सहकारीले ६०० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेन, पोखरा बजारमा बिक्री गर्दै आइरहेका छन् ।

पशु आहार दाना चोकरको अभाव हुदा जिल्लामा करिव दुई हजार लिटर दूध उत्पादन घटिसकेको र यो घट्ने क्रम अझै जारी रहनसकने जिल्ला भेटेरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा।चन्द्रबहादुर राना बताए। पाल्पा दूधमा आत्मनिर्भर जिल्ला हो र यहाँ दूध र दुग्धजन्य उत्पादन राम्रै भइरहेकामा अहिले भने यो लकडाउनले गर्दा दूध उत्पादन घट्दा किसानलाई मर्का परेको डा।रानाले बताए।

प्रकाशित : आइतबार, चैत २३, २०७६०८:०३

कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय