सफा सुग्घर चिटिक्क परेको कोठा, सफा शौचालय, बस्ने स्थलमा फर्म माथि म्याट्रेस राखिएको छ, दूरीको हिसाबले सबै टाढाटाढा छन्, त्यहाँ बसेका सबैको हातमा मोबाइल छ, हेर्दा लाग्छ त्यो कुनै क्वारेन्टाइन होइन । यो दृश्य हो, शिवराज नगरपालिकाले खरेन्द्रपुरमा निर्माण गरेको क्वारेन्टाइनको । अहिले यस क्वारेन्टाइनमा १६ जना छन्, सबै भारतबाट आएका हुन्, कसैको स्वास्थ्यमा समस्या छैन्, कसैले युटुब हेरिरहेका छन् त कसैले परिवारसँग भिडियो कल ।
भारतमा उच्च जोखिम देखेपछि नेपाल फर्किएका उनीहरूको दैनिकी गफगाफ र विश्वको खबर हेरेर र सुनेर बितेको छ । क्यान कपिलवस्तुले जडान गरेको इन्टरनेट सुविधासहितको क्वारेन्टाइनमा बसेका सबै खुशी छन् । क्वारेनटाइनमा बसेकालाई इन्टरनेटबाट समय बिताउन सहज भएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा बताए।
क्यान कपिलवस्तुले शिवराज नगरपालिकामा मात्र होइन तौलिहवाका चार वटा क्वारेन्टाइन स्थलमा निःशुल्क इन्टरनेट जडान गरेको छ । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा रहेका क्वारेनटाइनमा निःशुल्करूपमा इन्टरनेट जडान गरेको महासङ्घका पूर्वअध्यक्ष माधव घिमिरेले बताए ।
कपिलवस्तु नगरपालिकाले निर्माण गरेको रत्नराज्य मावि र बुद्ध पद्म माविको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेट जडान छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरले सदरमुकामको तौलिहवाका दुई क्वारेन्टाइनमा निःशुल्क इन्टरनेट जडान गरेको घिमिरेले बताए । यता महेन्द्र आधारभूत विद्यालय तथा मायादेवी गाउँपालिकाको छत्रपाली तीर्थादेवी मावि र शिवराज नगरपालिकाको सुपा देउराली भिलेजमा रहेको क्वारेन्टाइनमा नेट जडान गरिएको हो ।
निःशुल्क इन्टरनेट जडान भएपछि क्वारेन्टाइनमा बस्नेलाई दिन बिताउन सहज भएको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए।