लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पुर्याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सोमबारबाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेलसहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुपथ मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको बिर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो ।
उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा व्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । फाल्गुनन्द–१ मा व्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहजरूपमा चोकर र ब्राण्ड उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त पसल स्थापना गरिएको हो । “वडामा रहेका हाम्रा ९२ जना शेयर सदस्यसहित अन्य कृषकलाई खाद्यान्नको समेत अभाव हुने भएकाले खाद्यान्न समेत बिक्री गर्न थालिएको हो”, सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले भने।
सहकारीले बिर्तामोडबाटै सामग्री खरिद गरी पसल निरन्तर सञ्चालन गर्ने भएको छ । सहकारीले आफ्ना कर्मचारीलाई पसलमा खटाएको छ । कोरोना भाइरसको माहामारी तथा लकडाउन अन्त्य भएपछि पनि सुपथ मूल्यको उक्त पसल निरन्तर सञ्चालन हुने अध्यक्ष नेम्वाङको भनाइ छ । “आगामी दिन सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्ने नगदेबाली तथा फलफूलसमेत सहकारीले खरिद गरी बिक्री वितरण गर्ने लक्ष्यका साथ यो पसल सञ्चालनमा ल्याएका हौँ”, नेम्वाङले भने। उक्त पसलबाट अहिले फाल्गुनन्द गाउँपालिका वडा नं १ का स्थानीयवासीले मात्रै लाभ लिन सक्ने भए पनि आगामी दिनमा उक्त गाउँपालिकाका अन्य वडामा समेत विस्तार गरिने नेम्वाङले बताए।
उक्त सहकारी तथा मिलन केन्द्र नेपालले गुड नेवर्स इन्टरनेशनल नामक संस्थाको सहयोगमा यहाँ दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमले यहाँका कृषकलाई व्यावसायिक गाई तथा बङ्गुरपालनका लागि घुम्ती कोष परिचालन, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित व्यावसायिक परियोजना सञ्चालन तथा गुणस्तरीय दुग्धजन्य सामग्री उत्पादनमा सघाउ पु¥याउँदै आएको छ । कृषकले घुम्ती कोषको किस्ता रकम तिर्न नसक्ने भएका कारण लकडाउनमा समेत कृषकबाट उत्पादित दूध खरिद गरी सहकारीले दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको संस्थाका सचिव राजेन्द्र आङ्देम्बेले बताए।