शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान दिने निर्णय भएको छैन : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ ।

सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उहाँले बताउनुभयो ।

आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उहाँले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”

मुख्यमन्त्री, मन्त्री एवं कर्मचारीको सहयोग रकम जमा
प्रदेश सरकारले स्थापना गरेको वाग्मती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जमा गरेको छ ।

कार्यालयले कोषमा मुख्यमन्त्री एवं सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट रु सात लाख ६४ हजार ७७ जमा गरेको हो । मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका तर्फबाट रु पाँच लाख ९० हजार २३३, कार्यालयका कर्मचारीका तर्फबाट रु एक लाख ७३ हजार ८४४ जमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुविधाबापतको रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जमा गर्ने निर्णय गरिएको थियो ।

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले रु ५० करोडको कोष निर्माण गरेको थियो । कोषमा निजी क्षेत्रबाट एक करोडभन्दा बढी रकम जमा भइसकेको जनाइएको छ । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १३००५०३०००००२ मा रकम जमा गर्न सकिने लेखा अधिकृत गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : बिहिबार, चैत २७, २०७६१२:५३

भोलि र पर्सि सवारीसाधन चल्ने निर्णय रद्द, लकडाउन नखुल्ने