कोरोना भाइरसबाट विदेशमा १४ नेपालीको गयो ज्यान, ६६५ मा सङ्क्रमण पुष्टि

सांकेतिक तस्विर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक-एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर अहिले महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ ।

शनिबार सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिकामा २० हजार भन्दा बढीको ज्यान गएको छ भने सबैभन्दा धेरै मानिसको ज्यान जाने सहरमा न्युयोर्क परेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० हजार ५८० जनाको ज्यान गरेको छ । अमेरिकामा संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा पाँच लाख ५३ हजार ११५ पुगेको छ ।

प्रकाशित : आइतबार, चैत ३०, २०७६०८:५६

दक्षिण एसियाली मुलुकहरुलाई विश्व बैंकको चेतावनी, कोरोना महामारीबाट अर्थतन्त्रमा ठूलो असर पर्ने