काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताएका छन् ।
नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना दिँदै उनले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भए पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थालाई सहज राख्न र कालोबजारीको नियन्त्रण गर्न सकिएको बताएका हुन् ।
तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै मन्त्री भट्टले जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिने आशा व्यक्त गरे।
“सामूहिक प्रयासले हामी यो चुनौतीको सामना गर्नसक्ने छौं भन्ने मैले विश्वास लिएको छु”, उनले सन्देशमा भनेका छन्, “चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”
राष्ट्रिय गान गुञ्जँदै
नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाआँै, राष्ट्रिय धुन बजाऔँ’ अभियान हुँदैछ ।
ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा हुने सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरिसकेका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको छ ।