काठमाडौँ – सोमबार नेपालमा अर्की एक महिलामा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा एक महिलामा कोरोना भाइरस भएको पुष्टि भएको हो। कोरोना भाइरसको संक्रमण भएकी ती महिला लम्कीचुहा नगरपालिकाकी रहेको र उनी ६० वर्षीय रहेको बताइएको छ।
र्यापिड टेष्टका क्रममा उनीमा कोरोना भाइरसको संक्रमण नभएको देखिएपछि शंका लगेर पुनः परिक्षण गर्दा उनीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको बताइएको छ।
बताइएअनुसार, लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइन राखिएकी उनीमा गरिएको र्यापिड टेष्टमा नेगेटिभ देखिएपछि स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो। जसको रिपोर्ट पोजेटिभ आएको हो।
कोरोना संक्रमण पुष्टि भएकी महिला परिवार सहित विरगञ्जबाट फर्किएको बताइएको छ। कोरोना संक्रमणको पुष्टि भएसंगै उनलाई सेती प्रादेशिक अस्पताल पठाइएको छ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। सुदूरपश्चिम दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै एक पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। सुदूरपश्चिमका सम्पूर्ण कोरोना संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।
हप्ताको दोस्रो दिन सम्म मात्र नेपालमा ४ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।