काठमाडौँ – राष्ट्रियसभा सदस्य समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन्।
सोमबार सामाजिक संजाल ट्वीटर मार्फत उनले यस्तो घोषणा गरेका हुन्। राष्ट्रियसभाबाट आफूले पाउने एक वर्षको पारिश्रमिक नलिने श्रेष्ठको घोषणा छ।
श्रेष्ठका अनुसार उनको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजमा जानेछ।
कोरोना भाइरस संक्रमणका कारण उत्पन्न भएको अवस्थाको सामना गर्न एकतावद्ध भई सबैले आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु पर्ने आवश्यकता औंल्याउँदै उनले आफूले यस्तो घोषणा गरेको उनको भनाई छ।
“हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ।
यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।”,उनले ट्वीट गरेका छन्।
यस्तै उनले ट्वीटमा खर्च व्यवस्थापन बारे आएको प्रतिक्रिया माथि टिप्पणी गर्दै उनले साँसद नहुँदा समेत आफ्नो खर्च चलेको र त्यसमा पार्टीले सहयोग गर्दै आएको उल्लेख गरेका छन्।
निर्वाचनमा समेत कुनै कर्पोरेट हाउससँग चन्दा नलिने आफ्नो नीति रहेको उनको दावी छ।
“यस अघि बर्षौं साँसद नहुँदा जसरी नै।घरभाडा,गाडी र तेलखर्च पुर्ब पार्टीले दिदै आएको थियो।खाना सहितको सामान्य खर्च दाजुभाई र साथीहरुले।घुस र भ्रष्टाचारको शत्रु हुँ।दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउस सँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु।”,उनको टिप्पणी छ।