काठमाडौँ – सरकारले लकडाउन १५ गते सम्मका लागि बढाउने निर्णय गरेको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन बढाउने निर्णय गरेको हो।
देशमा कोरोना भाइरस संक्रमणको अन्त्यका लागि परीक्षणको दायरालाई बढाएर संक्रमित पत्ता लगाउनुपर्ने देखिएपछि सरकारले लकडाउन बढाउने निर्णयमा पुगेको बताइएको छ।
देशमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थालाई मध्यनजर गर्दै पनि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा आइतबार र सोमबार गरी दुई दिनमा मात्रै पाँच संक्रमित थपिएका छन्।
विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिनका लागि सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो। त्यसपश्चात लकडाउन अर्को एक साता थपेको सरकारले पुनः समय थप्दै लकडाउनलाई बैशाख ३ गते सम्मको लागि पुर्याएको थियो। सरकारले थपेको लकडाउन भोलि अर्थात् बुधबार सकिँदै छ।
हाल सम्म नेपालमा १४ संक्रमित भेटिएका छन्। नेपालमा भेटिएका संक्रमित मध्ये धेरै जस्तो सुदूरपश्चिम प्रदेशका रहेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ।