काठमाडौँ – पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। उनका अनुसार आज देशको मध्यपहाडी भू–भागमा मध्याह्नपछि हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने जनाएको छ ।
हाल देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षा सम्भावना रहेका औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
–––