नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइन राखेका दुईजना जब छतबाट हामफालेर भागे…

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः आज क्वारेन्टाइनमा राखिएको छ ।

गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए।

“दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ”, उनले भने। क्वारेन्टाइनको सुरक्षार्थ दुई जना शुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् । क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ ।

चट्याङ लागेर नाबालकसहित तीन घाइते
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् । रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उनका तीन वर्षीया छोरा घाइते भएका हुन् ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ । हावाहुरीले घर गोठको छाना उडाएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन् । उनीहरु दुवैजना बस्दै आएका घरमा क्षति भएकाले पुनः निर्माणको काम थालिएको लमिछानेले बताए। चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते रहेको लामिछानेले बताए।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७०९:११

वैशाख १५ गते सम्मको लागि थपियो लकडाउन !