“ओलीको ठाउँमा म भएको भए कोरोना नियन्त्रण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँथें”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर कोरोना विरुद्ध उत्रिनुपर्ने बताएका छन्।

प्राइम टिभीका लागि पत्रकार ऋषि धमलालाई सोमबार राति दिएको अन्तर्वार्तामा प्रचण्डले आफू प्रधानमन्त्री भएको भए हालको अवस्थामा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण भैसकेको हुने बताएका हुन्।

राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरुलाई पनि विश्वास लिएर जाने सन्दर्भमा आफूले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको खाँचो देखेको उनको भनाई छ।

सरकारले बनाउने संयन्त्र राम्रो भए पनि सबै दललाई मिलाएर उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण निर्माण गर्दा कोरोना भाइरस संक्रमण नियन्त्रणमा अझ राम्रो राष्ट्रिय सहमित, राष्ट्रिय एकता कायम हुने उनले तर्क गरे।

“अब मैले राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो । तर, मैले त्यसो भन्दैगर्दा मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो । सरकारले बनाउने संयन्त्र, जो बनेको छ । त्यो ठीक छ । त्यसले नै काम गर्नुपर्छ । तर, राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरुलाई पनि विश्वास लिएर जाने सन्दर्भमा मैले भनेको हो । मैले भनेको कुरा यदि सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने मैले फेरी जबरजस्ती गर्न खोजेको त होईन । मैले भन्ने त फेरि त्यस्तो बन्ने हो भनेपनि प्रधानमन्त्रीकै नेतृत्वमा हो है भनेको थिएँ । यदि म भएको भए त त्यसो गर्थें । तर, सरकार त अहिले हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो । तर, मुख्य कुरा राष्ट्रिय सहमित, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।”,अन्तर्वार्तामा उनले भनेका छन्।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७११:०७

अमेरिकामा शक्तिशाली हावाहुरीको ‘बितण्डा’: कोरोनाबाट लुक्न घर समेत रहेन, आँधीले सर्वस्व लुट्यो !