काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण सङ्क्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन् । थप समस्या आउन नदिन नगरपालिका समयमै सचेत हुनुपर्ने स्थानीयवासीको माग छ । बन्दाबन्दी भएदेखि नै यस क्षेत्रका नगरपालिकाका ग्रामीण भेगमा फोहर उठेको छैन ।
बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाका वडामा जम्मा भएको प्लाष्टिकलगायत फोहर स्थानीयवासीले बाल्न थालेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीचौरकी शान्ता सिंखडा एक महिनादेखि नगरपालिकाले फोहर व्यवस्थापन नगरेपछि बस्तीभन्दा तल वागमती किनारमा प्लाष्टिक बाल्न बाध्य हुनुपरेको गुनासो गरिन् ।
प्लाष्टिक बाल्दा वातावरणीय रुपमा नराम्रो असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि घरमा प्लाष्टिक, कागजलगायत फोहर थुप्रिएपछि चोकमा थुपारिदिनुभन्दा बाल्नु राम्रो भएकाले यसो गर्नुपरेको उनको भनाइ छ । नगरपालिकाको थली, मूलपानी, डाँछी, भद्रबास, आलापोट, गागलफेदीलगायत स्थानमा पनि यस्तो समस्या रहेको स्थानीयवासीको गुनासो छ ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनी वडा नं. १ देखि ५ सम्म ग्रामीण भेग भएकाले हाललाई फोहर उठाउन नसकिएको स्वीकार्छन् । वडा नं. ५ देखि ९ सम्म फोहर उठाइएको उनले बताए ।
गोकर्णेश्वर नगरपालिकाको जोरपाटी, गोकर्ण, बालुवा, नयाँपाटी, सुन्दरीजल क्षेत्रमा पनि फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकलगायत फोहर बालिन्छ । जसका कारण प्रदूषण फैलने गरेको छ । नगरपालिकाको वडा नं. २ नयाँपाटीमा फोहर बाल्दा घरमा बस्नै नसकिने गरी दुर्गन्ध फैलिएको स्थानीयवासी राजन तामाङको दुःखेसो छ ।
पाँच वर्षअघिसम्म यस क्षेत्रमा स्वच्छ वातावरण थियो । बस्ती बढेसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसकेकाले वातावरणीय स्वच्छतामा ह्रास आएको उनको भनाइ छ । प्लाष्टिक बाल्दा क्यान्सरजस्ता भयानक रोग लाग्ने तथ्य प्रमाणित भए पनि स्थानीयस्तरमा बेवास्ता भइरहेको छ । नगरपालिका र वडा कार्यालयले यसमा बन्देज नलगाएको स्थानीयवासीको गुनासो छ । मानव अधिकार तथा शान्ति समाजको सभापतिसमेत रहेका सफाइ अभियानकर्मी उत्तम पुडासैनी प्लाष्टिकलगायत फोहर बाल्न प्रतिबन्ध लगाउने गरी सूचना जारी गर्न नगरपालिकालाई पटकपटक अनुरोध गरेपछि सूचना आए पनि औपचारिकतामा सीमित भएको बताउँछन्
स्थानीय तहका जनप्रतिनिधिमार्फत प्लाष्टिक नबाल्न चेतना जागृत गर्नसके दीर्घकालीन रुपमा असर गर्ने क्यान्सरजस्ता रोगबाट मुक्ति मिल्ने अभियानकर्मीको भनाइ छ । यस विषयमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन ढिला भइसकेको छ ।
नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना वडा नंं २ को नयाँपाटी पुलबाट माथिको भागमा फोहर उठ्न नसकेको जानकारी दिए । नगरपालिकाकै गाडीले फोहर उठाउने स्थानमा नउठेको उनले स्वीकारे ।
कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा घरमै बसेका मानिस गर्मी बढेका बेला फोहर नउठ्दा अन्य सङ्क्रामक रोग फैलने भयले बाँचिरहेका छन् । स्थानीय सरकारले भयरहित रुपमा बस्ने वातावरण नबनाएको नगरवासीको भनाइ छ ।