एजेन्सी – दक्षिण कोरियामा निको भइसकेकाहरुमा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। उपचार पछि निको भइसकेकामा पनि पुनः कोरोना देखिन थालेको हो।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँ अहिले सम्म निको भइसकेका १ सय ४१ जनालाई पुनः कोरोना सक्रमण देखिएको छ। निको भएर घर फर्किएकाहरुमा समेत कोरोना देखिन थालेपछि चिन्ता बढेको विज्ञहरु बताउँछन् ।
निको भएका १ सय ४१ जनालाई पुनः कोरोना सक्रमण देखिएपछि त्यसबारे अहिले अनुसन्धान भइरहेको छ। कोरियाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (केसिडिसी)का उपनिर्देशक जुन वुकका अनुसार निको भएकाहरुमा पुनः संक्रमण देखिएको बारे अनुसन्धान भइरहेको छ।
विज्ञहरुका अनुसार सामान्यतया कोरोना भाइरस संक्रमण भई निको भइसकेकाहरुमा पुनः संक्रमण हुने सम्भावना कम हुन्छ। तर, १ सय ४१ जनालाई पुनः कोरोना सक्रमण के कारणले गर्दा देखिएको खुल्न सकेको छैन।
कोरोना भाइरसको संक्रमणलाई छिट्टै नियन्त्रणमा लिने देश मध्ये दक्षिण कोरिया पनि पर्छ। त्यहाँ अहिलेसम्म १० हजार ६ सय ३५ कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये २ सय ३० जनाको ज्यान गइसकेको छ।
यस्तै त्यहाँ कोरोना भाइरस संक्रमण पछि उपचारबाट निको भई घर फर्किनेहरुको संख्या पनि उच्च छ। दक्षिण कोरियाका ७ हजार ८ सय २९ संक्रमित निको भइसकेका छन्।
बितेको २४ घण्टामा त्यहाँ २२ संक्रमित थपिएका छन् भने ४ जनाको मात्रै ज्यान गएको छ। संक्रमण पछि उपचार गराइरहेका ५५ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइन्छ।