जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका रहेको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार आज १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्ररूपले भइरहेको छ । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।
प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ ।
कोरोना रोकथामका लागि प्रदेशमा समन्वय गर्ने मन्त्रीसँग छलफल
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेशमा र्यापिड डायग्नोस्टिक टेष्ट, बिरामीको अवस्था र सङ्क्रमण भएका व्यक्तिको स्थितिलगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरिएको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिंडारीले जानकारी दिए’।
उनका अनुसार छलफलमा मन्त्रीहरुले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेका थिए। प्रदेश नं १ देखि सुदूरपश्चिम प्रदेशसम्म सातवटै प्रदेशको स्थितिका बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिको उद्धारका विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गरेको उनले बताए ।
सचिव बिंडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थी, स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको जानकारी दिए। बैठकमा सामग्रीको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण तथा उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको थियो । लकडाउनको अवस्थामा घरमै बसेर सङ्क्रमणलाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापमा तीव्रता दिने विषयमा समेत छलफल भएको सचिव बिंडारीले जानकारी दिए।