मेलम्ची – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।
निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।
गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताए ।
उनका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको उनले बताए । इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताएका छन् ।
कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ
कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए।
भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आठ जनाको स्वाब नमूना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले जानकारी दिए। डा गौतमले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको जानकारी दिए । अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनले जानकारी दिए।
त्यस्तै भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ ।
स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइबुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयलाई नगरपालिकाले दिएको पासका आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए। यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माइकिङ गरी कोरोनासम्बन्धी जनचेतना जगाउँदै घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।