काठमाडौँ – जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छर्ने महिलाहरु बस्ने क्षेत्रलाई सेनिटाइज गर्न शुरु गरिएको छ।
पैसा छरेर फरार भएका दुवैजना पक्राउ परेसंगै गरिएको आरडिटी परिक्षणमा एक महिलाको पोजेटिभ रिपोर्ट आएपछि ती महिलाहरु बस्दै आएको क्षेत्र सेनिटाइज गर्न शुरु गरिएको हो।
उक्त क्षेत्र सेनिटाइज गर्ने कार्यमा जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह आफैं खटिएका छन्। उनी सेनिटाइज गर्ने टोलि लिएर आफैं फिल्डमा खटिएका हुन्। अहिले जनकपुरधाम ७ मा सोडियम ‘हाइपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किने काम भइरहेको साहले बताए।
जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।
ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार शनिबार करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।