रूपैयाँ छर्ने महिलाको स्वाब नतिजा ‘नेगेटिभ’ !

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार हिजो तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आज ती महिलाको घाँटीको स्वाबलाई पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने हिजै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरु नाताले नन्द भाउजु हुन् ।

यही वैशाख ५ गते १२ः३० बजे वडा नं ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी हिजो शनिबार प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो । प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका–५ बहुअर्वाका ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका–७ का ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो ।

प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा
कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरीब तथा दैनिक ज्यालादारीका मजदूरका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई दृष्टिगत गरी प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्याउने योजना ल्याएको छ । स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारको लिष्टका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरीद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरु खरीद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकमले थप पिसिआर मेशिनसहितका अन्य उपकरणहरु खरीद गरिने जनाएको छ । मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७१२:४३

रोकियो जोखिमपूर्ण पैदलयात्रा: भारी र पोकापुन्तुरा बोकेर हिँडेकाहरुको सहज रुपमा गन्तव्य कोरिँदै