“प्रधानमन्त्रीज्यू, जनताको दुखलाई प्रायोजित ठान्नु हुन्छ भने ‪आँखा र कान परीक्षण गराउनुस्”

फाइल तस्बिर

काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशालि नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले आफ्नो आँखा र कान परीक्षण गराउन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन्।

कोरोना भाइरस महामारीक समयमा सरकार विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै प्रधानमन्त्री केपि शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै थापाले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन्।

‪हप्तौँ हिँडेरै घर पुगेका, बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित भन्ने, तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने र दुख पाएका जनताको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीले आँखा र कान परीक्षण गराउनुपर्ने उनको भनाई छ।

“‪हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला!‬”,थापाले सामाजिक संजालमा लेखेका छन्।

सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिलाई दिएको अन्तर्वार्ताका क्रममा ओलीले यसो भनेका थिए –

वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जे मा पनि विरोध र दुष्प्रचार झुठ र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो । यसरी आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो । अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिकस्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ ।

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिऊँ । हेल्लो सरकार छ । या अरु माध्यम हुन सक्छन् । सिसीएमसीमा २० जना मान्छे २४सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन् । त्यहाँ खबर गरौँ । बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ । प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र ?

त्यसकारण सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ । सरकारलाई गालीको फेहरिस्तभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्तो स्थितिमा यात्रु र मजदूरहरु परेको थाहा पाएलगत्तै सरकारले बाटामा खाना खुवाउने र सुरक्षितरूपमा गन्तव्यमा पठाउने प्रबन्ध गरेको छ । यस्तो बेलामा सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु हुँदैन । नेपालमा रोग या भोकले कोही मर्नु पर्दैन । यो देश भीखमङ्गाहरुको देश होइन । गरिखानेको देश हो । विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ । पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भइ लाग्नुपर्छ । हामीले राहत वितरणलाई पनि निरन्तरता दिएका छौँ । त्यहाँ कुनै अपर्याप्ता छ भने हेर्न सकिन्छ ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१०:५८

रेस्टुरेन्टमा काम गर्ने ४५० कर्मचारीलाई राहत वितरण!