गए राति आएको हावाहुरी र चट्याङका कारण चार घाइते !

गाईघाट – गए राति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ११ देखि १२ बजेसम्म परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरका अनुसार जिल्लाको कटारी नगरपालिका–११ बेतिनीमा रातमा सुतिरहेका दम्पतीद्वय ५० वर्षीय चन्द्रबहादुर मगर र ४८ वर्षीया मनकुमारी मगर चट्याङका कारण घाइते भएका छन् । यस्तै कटारी नगरपालिका–६ रिस्कुमा पनि गए रातिको चट्याङबाट रिस्कुका १२ वर्षीय आसमान राई सख्त घाइते भएका छन् भने राईको घरमा चट्याङका कारण बाख्रा पनि मरेको छ ।

त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षीया सुष्मा मगर पनि सुतेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । ट्याङबाट घाइते भएकाको अहिले कटारी अस्पताल र जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए । यस्तै गए रातिको हावाहुरीले त्रियुगा, बेलका र चौदण्डी नगरपालिका क्षेत्रका करोडौँ मूल्यको फलफूल आँप, लिची र केराखेतीमा क्षति पुगेको छ ।

त्रियुगा नगरपालिकाका खैजनपुर, जोगिदह क्षेत्रमा भर्र्खरै फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुगेको जोगीदहका स्थानीय नारायण ढकालले बताए । यस्तै यस क्षेत्रमा धेरै केराका बोटसमेत हावाहुरीले ढालेको अर्का स्थानीय राजनारायण चौधरीले बताए । चौदण्डी नगरपालिकाको हँडिया र सिवाइ सुन्दपुर क्षेत्रमा पनि भर्खरै फल लागेको आँप र लिचीमा हावाहुरीले खसालेर क्षति पुर्याएको छ भने धेरै केराका बोट लडाएको हँडियाका स्थानीय विष्णु चौधरीले बताए । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, भागलपुर क्षेत्रमा पनि हावाहुरीको कारण आँप र लिचीको फलमा क्षति पुगेको छ भने धेरै केरा बगानका केरा ढालेको भागलपुरका सविन्द्र राईले बताए ।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१०:१५

खसीको मासु इतिहाँसकै महँगो, किलोमै ४००-५००ले बढ्न थाले पछि छापा ! [मूल्य सहित]