आधा किलो सामान किनेजस्तो गरेर बाहिर घुम्ने बढे, जरिवाना असुल गर्न थालियो !

काठमाडौं । बन्दाबन्दीका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ ।

अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए ।

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उनले सुनाए ।

नगर क्षेत्रबाट काठमाडौँ बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ ।

सभामुखको पहलमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समितिमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

वितरित सामग्रीमा हरेक स्वास्थ्य एकाइका लागि पिपिई सेट, थर्मल गन, सानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुटलगायतका सामग्री छन् । भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिशङ्खुपाखर गाउँपालिकाका स्वास्थ्य एकाइका लागि ती सामग्री वितरण गरिएको छ ।

स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटाले नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ चिकित्सकबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए। उपलब्ध गराइएका पिपिई सेट पुनः प्रयोग गर्न सकिने किसिमका छन् ।

सुनकोशी, बलेफी, जुुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका लागि बुधबार स्वास्थ्य सामग्री वितरण गरिनेछ । सामग्री बुुझेपछि स्थानीय तहका प्रमुुखहरुले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले सङ्कटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दोस्रो चरणमा स्थानीय विपद् व्यबस्थापन समितिहरुसँग समन्वय गरेर खाद्यान्नलगायत सामग्री वितरणको तयारी गरिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१३:२१

उदयपुरमा फेरी थपिए एक कोरोना संक्रमित, कोरोनाको केन्द्रविन्दु उदयपुर बन्ने खतरा बढ्यो !