२३ संक्रमित फेला परेपछि उदयपुर जिल्ला सिल गर्ने निर्णय !

काठमाडौँ – प्रदेश नम्बर १ सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्ने खतरा बढेपछि अन्य जिल्लाहरुमा संक्रमण नबढोस् भन्नका लागि उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको हो।

जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। उनका अनुसार अब जिल्लामा आवतजावत गर्न पाइने छैन।

मंगलबार उदयपुरमा एकै दिन १० कोरोना भाइरस संक्रमित थपिएका छन्। मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट दुई जनामा कोरोनाको पुष्टि भएको छ भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट ८ जनामा कोरोनाको पुष्टि भएको छ।

मंगलबार मात्रै उदयपुरमा एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४१ पुगेको छ। हाल सम्म सबै भन्दा धेरै संक्रमित उदयपुरमा भेटिएका छन्। उदयपुरमा अहिले सम्म २३ जना संक्रमित फेला परिसकेका छन्।

भोजपुरका एकजनामा कोरोना द्रुत निदानात्मक परीक्षण रिपोर्ट पोजेटिभ !

भोजपुरका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत निदानात्मक परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

गत साल फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलार्ई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ । स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१३:५८

कोरोनाभाइरसका कारण विश्वभर चरम खाद्यान्न अभाव हुने, भोकमारी दोब्बरले बढ्ने !