विराटनगर – मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका कृषक बन्दाबन्दी र वर्षाका कारण खेतमा रहेको एक हजार ट्रकभन्दा बढीको टमाटर कुहिने पिरमा परेका छन् ।
उक्त बडाका ५०० किसानले पाँच कठ्ठादेखि १० बिघा जग्गामा तरकारी खेती गर्ने गरेकोमा यसपटकको बन्दाबन्दीले यातायातको साधन सञ्चालन नहुँदा कृषि बजारसम्म पु¥याउन नसक्दा बारीमै रहेको टमाटरलगायतका अन्य हरियो तरकारी कुहिने अवस्था सिर्जना भएकाले चिन्तित भएका छन् । खेतमा रहेको टमाटर बन्दाबन्दीका कारण यातायात सञ्चालन नहुँदा बिक्रीमा समस्या भएको र थप आज भएको वर्षाका कारण आधा टमाटरर आगामी एक हप्ताभित्र कुहिने अवस्था सिर्जना भएको कृषकको भनाइ छ ।
कृषकले अहिले प्रतिकिलो रु पाँचदेखि १० भन्दा कम रकममा न्यूनस्तरमा स्थानीय केही व्यापारीलाई टमाटर खेतबाटै बिक्री गरिरहेका छन् । प्रदेश नं १ को सबैभन्दा बढी टमाटर हुने उक्त क्षेत्रमा बजारको पहुँच अहिले नहुँदा किसानले उत्पादन गरेको टमाटर बोटमा लटरम्म देखिन्छ भने भुइँमा धरै मात्रामा झरिरहेको छ । यस क्षेत्रमा उत्पादन हुने हरियो तरकारी प्रदेशको आवश्यकता पूर्ति हुन समक्ष भएको कृषकको भनाइ छ ।
कटहरीमा उत्पादित टमाटरलगायतका अन्य तरकारी मोरङको विराटनगर, उर्लाबारी, सुनसरीको धरान, झापाको दमक, विर्तामोड, सिरहाको लहान, गोलबजार, चितवन, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जलगायतका क्षेत्रका व्यापारीले खरिद गर्ने गरेकामा बन्दाबन्दीका कारण बिक्री ठप्प भएको कृषक कपिन्द्र सिंहले बताए।
कृषक सिंह आठ वर्ष खाडी मुलुकमा आफ्नो युवाकालको परिश्रम खर्च गर्नु भए पनि माटोको मायाले स्वदेशमा केही गर्छु भन्दै विगत पाँच वर्षदेखि मौसमी तरकारी खेती गर्दै आएका हुन् । दुई छोराछेरीका बुबा ३५ वर्षीय कपिन्द्र चार बिघा जग्गामा टमाटमर, घिरौला, बन्दाकोभी, खुर्सानी, घिरौला, भिण्डी लौका, बैगुनलगायतका तरकारी खेती गर्दै पाँच जनालाई रोजगारी दिइरहेका छन् ।
डोरी तानेर गरिने टमाटर खेतीमा अन्य तरकारीभन्दा खर्च ज्यादा लागे पनि आम्दानी पनि अन्यभन्दा ज्यादा नै हुने गरेको उनको भनाइ छ । टमाटरका साथ सोही स्थानमा बोडी, लौकाखेती पनि गर्नाले सहज भएको कृषक कोपिन्द्रले बताए। टमाटम खेतीमा प्रतिकठ्ठा रु १५ देखि रु २० हजार खर्च लागे पनि ३० क्विन्टल उत्पादन हुने गरेको छ भने यसमा जोखिम धेरै नै रहेको कृषकको भनाइ छ ।
कृषिसम्बन्धी केही प्राविधिक ज्ञान लिएर तरकारी खेती शुरु गरेको जानकारी दिँदै कोपिन्द्रले यसबाट आफ्नो परिवार राम्रोसँग पालनपोषण गर्नुका साथै केही स्थानीयवासीलाई रोजगार दिन पाएकामा खुशी व्यक्त गरे। स्थानीय कृषि सहकारीका सञ्चालकसमेत रहनुभएका कोपिन्द्रले आफूले तरकारी खेती गरेको देखेर यस वडाका अन्य छिमेकीलगायतले खेती गर्न शुरु गर्नु भएकामा सन्तुष्टि व्यक्त गरे।
यसैगरी सिटी रिक्साचालक ३२ वर्षीय छेदी सिंहीले दुई बिघा जग्गा वार्षिक रु एक लाखमा भाडामा लिई मौसमी तरकारी खेती गर्ने गरेकामा सबै खर्च कटाइ वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको बताए। प्रदेश तथा स्थानीय सरकारबाट कृषि सम्बन्धमा प्राविधिक ज्ञान तथा सहयोग नपाएको कृषकको गुनासो छ ।
सोही स्थानका अर्का कृषक सुरेश सिंहले बन्दाबन्दीका कारण खेतीमा टमाटर कुहिनुको साटो आज रु १० भन्दा कम मूल्यमा काठमाडौँका व्यापारीलाई २०० क्रेट (प्रतिक्रेट २५ किलो) टमाटर पठाउन लागेको जानकारी दिए।
बन्दाबन्दी नभएको भए रु २० देखि २५ मा खेतीमा थोकमा बिक्री हुन्थ्यो तर न्यून मूल्यमा बिक्री गर्नुपरेकामा दुःख व्यक्त गर्दै केही लागत यसबाट उठ्ने उनले बताए। कृषक सुरेशले एक बिघा खेतमा बन्दा, काक्रा, लौका, टमाटरलगायतका तरकारीबाट वार्षिकरूपमा सबै खर्च कटाएर रु तीन लाख बचत गर्ने गरेको सुनाए।
दुई बिघामा तरकारी खेती गर्ने अर्का किसान जितेन्द्र सिंहले अहिले टमाटर खुर्सानी उत्पादन भइरहेको बताउँदै बन्दाबन्दीले बजारसम्म तरकारी पुग्न नपाउँदा परिवार पालनपोषणमा समस्या उत्पन्न भएको विचार व्यक्त गरे। विगत १५ वर्षदेखि खेती गर्दै आउनुभएका जितेन्द्रले चार वर्षदेखि अन्नबाली छोडी तरकारी खेतीमा आकर्षित भएका छन् भने यसबाट पाँच जनाको पारिवार पाल्नुका साथै वार्षिकरूपमा रु पाँच लाख बचत हुने गरेको छ भने।
उनले कृषकलाई समयमा मल, कृषिसम्बन्धी आधुनिक ज्ञान, कृषि औजारमा सहज उपलब्धता, कृषि ऋणमा सहज पहुँच र तरकारी खरिदमा प्रदेश तथा स्थानीय सरकारको सहयोग हुनुपर्नेमा जोड दिए। कृषक कोपिन्द्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै यहाँ उत्पादन हुने हरियो तरकारी भारतबाट आयतमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए।
प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयले बन्दाबन्दी कारण कटहरीका कृषकको तरकारी खेतमा कुहिने समस्या समाधानका लागि पहल शुरु गरेको छ । प्रदेश सरकारले जिल्ला सहकारी लिमिटेडमार्फत कटहरीमा रहेको कृषि थोक बजारसम्म कृृृषकले ल्याएको तरकारी बिक्रीमा सहज बनाएको सहकारीका अध्यक्ष डिल्ली पोखरेलले बताए। उनले प्रदेश सरकारको अनुरोधमा सोमबार तीन ट्रली कृषकको टमाटर, बन्दा, लौका बिक्रीमा सहज पुर्याएको बताए ।
कृषकले ल्याएको तरकारी थोकबजार बिक्री गर्ने तथा बाँकी विराटनगर क्षेत्रमा बिक्री वितरण गर्न यातायात साधनसहित सहयोग गरेको बताए। यता कृषक कोपिन्द्र्रले एक हजार ट्रक टमाटर खेतीमा रहेको अवस्थामा बजारमा तरकारी पुर्याइ बिक्री गर्नु असहज भएको बताउँदै खेतमा खरिदको व्यवस्था गरी मुलुकका अन्य बजारमा बिक्री गर्न सहज बातावरण मिलाउन आग्रह गरे। उनले यही अवस्थामा रहे यस क्षेत्रका किसान तरकारी छाडी अन्य खेती गर्न बाध्य हुने छन् भने।
औषधिको थोक विक्रता एवं तरकारीका उपभोक्ता राजेश सिंह डङ्गोल स्थानीय मुलुकलाई तरकारीमा आत्मनिर्भर बनाउन कृृषकलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिदै विदेशी मुद्रा सञ्चीतका लागि भारतीय क्षेत्रबाट आयात हुने हरियो तरकारी पूर्णरुपमा बन्देज लगाउनु पर्ने आवश्यक्ता औल्याए ।
कटहरी–४ का किसानरुले एक सय विघामा तरकारी खती गरिरहेका छन् भने अहिले तरकारी विकी नहुंदँ गाई, बाख्रालाई खुवाउने गरेको छन । यहाँका किसानले प्रतिकठ्ठा बोडी दुई क्विन्टल, लौका २० क्विन्टल, भिन्डी तीनदेखि चार क्विन्टल, काक्रा १२ क्विन्टल र बन्दाकोभी ४० क्विन्टल उत्पादन गर्ने गरेको कृषक कोपिन्द्रले बताए। कृषहरुले उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुँदै हरियो तरकारीमा सरकारले तोकेको मापदण्डअनुसार विषादी छकर्ने गरेका छन् ।