बिरालो सम्झेर ल्याएको जनावरले बाघको जस्तो व्यवहार देखाउन थालेपछि…

स्याङ्जा – वालिङमा लोपोन्मुख चरीबाघको बच्चा भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरीबाघको बच्चा कार्यालयको संरक्षणमा राखिएको जानकारी दिए।

छ दिन पहिले स्थानीयवासी बालबालिकाले वालिङ –१ स्थित जंगलमा खेल्ने क्रममा त्यसलाई बिरोलाको बच्चा भनेर घरमा ल्याएर पालेका थिए । केही दिनपछि त्यसले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयवासीले गण्डकी प्रदेशसभा सदस्य एवं विधायनसभा समितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझाउन आग्रह गरेका थिए ।

प्रमुख काफ्लेले भने, “अहिले साह्र्रै सानो छ, सानोमै जंगलमा छाड्दा अन्य जनावरले खाने डर भएकोले अलि ठूलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छौँ ।” लोपोन्मुख संरक्षित वन्यजन्तुका रुपमा रहेको चरीबाघको बच्चालाई वालिङ नगरपालिका १ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए । डिभिजन वन कार्यालयले कास्की डिभिजन वन कार्यालयसँग समन्वय गरेर कास्की, पचभैवामा रहेको जनावर उद्धार केन्द्रमा छाड्ने तयारी भइरहेको जनाएको छ ।

कृषि उपजका लागि द्रुत कार्य समूह

कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित परिस्थितिमा प्रदेशका ११ वटै जिल्लामा कृषि तथा पशुपन्छीजन्य खाद्य बस्तुको सहज बिक्रीवितरण तथा कृषि तथा पशु उत्पादन सामग्री, बीउविजन, मल, औषधि, घाँस, दानाको निर्वाध ढुवानी र कृषकका समस्या समाधानमा सहजीकरणका लागि सो टोली गठन गरिएको हो ।

टोलीमा मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनप्रसाद पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेल, मन्त्रालयका उपसचिव डा गृष्म न्यौपाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारी छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषकले उत्पादन गरेको बस्तुको बिक्रीवितरण, कृषिजन्य उत्पादनको सहज ढुवानी तथा जारी लकडाउनमा आइपर्ने कृषि तथा पशुपालन सम्बन्धी समस्याका समाधानमा यस टोलीबाट सहयोग पुग्ने बताए। उहाँले कृषकलाई कुनै समस्या परेमा टोलीलाई खबर गर्न पनि आग्रह गरे।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१२:५९

एक बोरा पैसा सिरानीको खोलभित्र फेला!