झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री

सांकेतिक तस्विर

भक्तपुर – भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । विगत तीन दिनदेखि मासु पसलको अनुगमन गर्दै आएको नगरपालिकाले आज पनि विभिन्न ठाउँमा रहेको मासु पसलको अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाको सहभागितामा भार्वाचो, टेखापुखु, वंशगोपाल, देगमना र बाराही डोकाफल्चामा रहेका मासु पसल अनुगमन गरिएको हो ।

कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा बासी तथा अस्वस्थकर मासुको बिक्री भएको गुनासो आएपछि मासुबाट हुनसक्ने सङ्क्रमणलाई रोक्न, पसललाई व्यवस्थित र सफा पार्न, मासु काट्ने औजार, ढक तराजुको सफाइ, सडेगलेका मासु बिक्री रोक लगाउन र मापदण्ड पुगे नपुगेको हेर्न अनुगमन तीव्र पारेको संयोजक गोराले जानकारी दिए।

अनुगमनमा हेरानानी शाहीको मासु पसल, बाराही चिकेन सप, छोरी माया शाहीको मासु पसल, मासु संसार, बाराही न्यू कोल्ड स्टोरलगायतमा आज भएको अनुगमनमा मासु पसलमा सुधार नभएको पाइएको छ । मासु पसल दर्ता नवीकरण नगरेको, मनपरि मूल्य लिएको, मूल्यसूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, कतिपय पसलमा मासुमा झिङ्गा भन्किएको पाइएको, जाली नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

पटक पटकको अनुगमनले अनुरोध गर्दा पनि सुधार नगर्ने दुई पसलबाट ढक दुई थान अनुगमन समितिले जफत गरेको छ । अनुगमन समितिले दिएको निर्देशन तत्काल पालना गरी सुधार नगरे अर्को अनुगमनमा कडा कारवाही गरिने जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१३:४४

ट्रम्पद्धारा किमको स्वास्थ्य लाभको कामना: “अरु मलाई थाहा छैन, सिघ्र स्वास्थ्य लाभको कामना गर्छु”