दयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरमा बुधबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । तीनै जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बुधबारका संक्रमितसँगै उदयपुरको भुल्के क्षेत्रबाट मात्रै २७ जना संक्रमित भएका छन् । सबैको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भईरहेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । बुधबार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा २४, ६० र ७२ वर्षिय पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो ।
संक्रमित भेटिएका मध्ये एकै परिवारका पाँच जना रहेको छ । ४१ वर्षिय दाजु, उनका १८ वर्षिय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षिय ज्वाई र १८ वर्षीय भान्जामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये १८ वर्षिय पुरुष उत्तर प्रदेश पढ्न गएको र चैत ७ गते उत्तरप्रदेश हुदै घर फर्किएको खुलेको छ ।
उदयपुरको भुल्केमा रहेका थप तीन जनामा कोरोना सक्रमणको पुष्टि, ४५ जना पुगे, ७ अस्पतालबाट डिस्चार्ज
संक्रमण पुष्टि हुनुअघि संक्रमितहरुले टोलमै बसेर तास खेल्ने, उनीहरुले फलाएको तरकारी उक्त क्षेत्रका बासिन्दाले खरिद तथा उपभोग गर्ने तथा संक्रमित भेटिएका एकजनाले चलाउने अटो स्थानीयले प्रयोग गर्दै आएका कारण स्थानीयहरु त्रसित देखिएका छन् । यस्तै कोरोना संक्रमणबाट बच्न भन्दै केही दिनअघि स्थानीय वन उपभोक्ता समितिले मास्क बनाउँदै टोलभरि बाँडिएको थियो । उक्त मास्क प्रत्येक घरमा दुई वटाका दरले बाँडिएको थियो । हाल उक्त मास्क बनाउने मान्छेलाई नै संक्रमण देखिएपछि झनै तनाव थपिएको स्थानीयले बताएका छन् ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार त्यहाँबाट अहिलेसम्म ३२० जनाको नमुना संकलन गरिएकोमा कतिपयको नतिजा अझै आउन बाँकी छ । जसले गर्दा संक्रमितको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । वैशाख ५ गते पुष्टि भएका सङ्क्रमितमा समेत भाइरस कहाँबाट सर्यो र तीमध्ये कसले कसलाई सारेका हुन् भन्ने स्पष्ट भइसकेको छैन ।
उदयपुरमा सुरुमा त्यहाँको एक मस्जिदमा संक्रमित भएका पुष्टि भएकाहरू चार महिनादेखि नेपालमा रहेको भन्ने विवरण समेत आएका छन् । यसबीचमा उनीहरू नेपालमा थुप्रै ठाउँमा बसेका हुनाले त्यस अवधिमा भेटेका मानिसहरूको विस्तृत पहिचान गरेर अन्यत्र कतै स्थानीय प्रकोपहरू भएका हुनसक्नेबारे खोज्न आवश्यक रहेको बताइन्छ ।
दुई संक्रमित अस्पतालबाट डिस्चार्ज
कोरोना भाइरसको संक्रमण भई उपचाररत दुई जना निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक र काठमाडौंमा उपचाररत धादिङका ३४ वर्षिय पुरुष डिस्चार्ज भएका हुन् ।
भारतको उत्तराखण्डमा काम गर्दै आएका विक गएको चैत महिनामा पश्चिमी सीमानाका गडडचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आई पुगेका थिए । योसँगै सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।