काठमाडौँ – नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको बहराइचमा बिहिबार आठ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना पुष्टि भएका मध्ये एक जना नेपाली समेत रहेका छन्।
रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा रहेका तीन नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि हुन आएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
एक जनामा कोरोना पुष्टि भएपछि रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा रहेका उनी सहित ५० जनालाई बहराइचस्थित जिल्ला अस्पतालमा रेफर बताइएको छ।
भारतीय संचार माध्यमहरुका अनुसार आठ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ट्राभल हिस्ट्री निकाल्ने कार्य भैरहेको छ। कोरोना पुष्टि भएका नेपालीको घर प्रदेश पाँचमा रहेको समाचारमा उल्लेख गरिएको छ।
सीमावर्ती बहराइचमा कोरोना भाइरस संक्रमण देखिएपछि सीमानाकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बहराइचसँग सीमानाका भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।