आज पनि थपिए दुई कोरोना संक्रमित, सनसिटी अपार्टमेन्टका दुवै जना निको भए !

काठमाडौँ – बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।

यस्तै कोरोना संक्रमण देखिएपछि पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ८१ वर्षीया वृद्धा र उनका ५८ छोरा डिस्चार्ज भएका छन्।योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

भारतबाट आएका सबैलाई आरडिटी टेष्ट गरिने

भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ ।

भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए।

चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडीमा ३४३, मेलौलीमा ४४९, पाटनमा ४८२ र सुर्नयामा ४०५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २६५, दोगडाकेदारमा ४०१, पञ्चेश्वरमा ८९५, सिगासमा १३९ र शिवनाथ ९१२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् ।

जिल्लामा अहिले एक हजार ६ सय ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए।

यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७१०:५९

“भोकभोकै मर्नुभन्दा आफ्नै देशमा मरौला भनेर ट्युबमा महाकाली नदी तरेर आयौं”