सर्लाही – भारतसँग सिमाना जोडिएको सर्लाही जिल्लामा सीमा क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको छ । सीमाबाट लुकीछिपी हुनसक्ने आवतजावतलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लुकीछिपी आवतजावतलाई रोक्न कडाइका साथ निगरानी शुरु गरेको हो ।
सीमा क्षेत्रमा ती दुई सुरक्षा निकायले चौबीसै घण्टा सुरक्षा दिइरहेका छन् । भारतीय नागरिक सीमाका चोर नाका हुँदै भित्रिनसक्ने भएकाले सीमामा स्थायी सुरक्षाचौकीसँगै दर्जनौँ अस्थायी सुरक्षाचौकी खडा गरेर ‘हाइअलर्ट’का साथ निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। यहाँको मलङ्गवा बजार भित्रने छोटी भन्सार, भेडियाही, खुटौना, भाँडसर, सिमरा, बहादुरपुर, बलरा, त्रिभुवननगर, नारायणपुर, सखुअवा, पर्सा र सङ्ग्रामपुरबाट मानिसको आवातजावत हुने गरेको भन्दै सो क्षेत्रमा सुरक्षाकर्मी कडाइका साथ खटेका प्रहरी उपरीक्षक उनले बताए।
सीमा क्षेत्रमा भएका मुख्य तथा सहायक सडक, गोरेटो र पुलहरू सबै शिल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। छिमेकी देश भारतसँग जिल्लाको ६४ किलोमिटर भाग खुला सिमाना रहेको छ । जसका कारण पनि विशेष सुरक्षा सतर्कता शुरु गरिएको प्रहरीले जनाएको छ ।
सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।
विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पिपिई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो । कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो ।
३३ थान पिपिई प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई आज एक समाजसेवीले ३३ थान पिपिई प्रदान गरेका छन् । कोभिड –१९ को जोखिमबाट बच्न, बचाउन तथा रोकथामका लागि जिल्लाको गौशाला नगरपालिका –११ निवासी योगनारायण महतोले समितिलाई पिपिई प्रदान गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।
महतोले आजै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमले मण्डललाई महासंघको भवनमै पुगेर पत्रकारका लागि स्यानिटाइजर र पञ्जासमेत प्रदान गरेका हुन् ।