काठमाडौं । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु गरेको छ ।
उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीमध्ये तीन जना काठमाडौंमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
मुस्लिम समुदाय घरमै पढ्छन् नमाज
बन्दाबन्दी (लकडाउन)का कारण लमजुङ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर बन्दाबन्दी गरेपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।
नेपाल मुस्लिम सङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष एवं बेँसीशहर नगरपालिकास्थित चादजाने मस्जिद कमिटीका अध्यक्ष सहेदिन मियाँले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको बताए। “सरकारले बन्दाबन्दी लागू गरेपछि यहाँका मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ”, उनले भने, “लकडाउनमा एकापसमा जम्मा भएर केही कार्य नगर्न सरकारले गरेको आग्रहको पालना गर्दै सबै मुस्लिम समुदायलाई मस्जिदमा नगई घरघरमै नमाज पढ्नलाई आग्रह गरेका छौँ ।”
उनका अनुसार बेँसीशहर नगरपालिकाबाहेक जिल्लामा भोर्लेटार, सुन्दरबजार, ताकुघाट, सिर्ख्र, भोटेओडारमा मस्जिद रहेको र त्यहाँ पनि यतिबेला सामूहिकरूपमा नमाज पढ्नलाई बन्द गरिएको छ ।
एक महिनासम्म चल्ने मुस्लिम समुदायको ठूलो पर्वमध्ये एक रमजान आजबाट शुरु हुने र बेलुकाबाट तराबी ध्यान गर्ने गर्दछन् । यो सामूहिकरूपमा मस्जिदमा धर्मगुरुबाट पढाउने तराबी ध्यान हो, तर यस वर्ष लकडाउनका कारण मस्जिदमा यो ध्यान पनि नहुने मुस्लिम सङ्घ लमजुङका अध्यक्ष मियाँले बताए। दश वर्षमाथि र बिरामी भएका मुस्लिमबाहेक सबैले सामूहिकरूपमा नमाज तथा यस तराबी दैनिक पाँच पटक पढ्ने गरेको उनको भनाइ छ । जिल्लाभरि करिब एक हजार २०० मुस्लिम छन् ।