काठमाडौँ – गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिए । थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए ।
परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो । हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर गएका छन् ।
भन्सार कार्यालयमा सुरक्षा सतर्कता
रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै स्यानिटाइजर छर्किने वयवस्था गरिएको छ । बन्दाबन्दीका कारण मानिसको आवतजावतमा रोक लगाइए पनि ढुवानी दैनिक हुने गरेपछि स्वास्थ्य सुरक्षाका लागि स्यानिटाइजर छर्किने काम गरिएको कार्यालयले जनाएको छ ।
दैनिक एक सयकोे हाराहारीमा भारतीय कन्टेनर भन्सार कार्यालय हुँदै नेपाल आउने गरेका छन् । जसका कारण सीमा क्षेत्रका बासिन्दाले कोभिड–१९ का भाइरस आउन सक्ने गुनासो गरेपछि भन्सार कार्यालयले स्यानिटाइजर स्प्रे शुरु गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । कार्यालय प्रमुख कमलकुमार भट्टराईले भन्सारले भारतीय कन्टेनर चलाएर आउने चालक तथा चालक बस्ने क्याबिनमा समेत डिटोल स्यानिटाइजर छर्कने गरिएको जानकारी दिए।
“भारतीय चालकलाई स्वास्थ्यकर्मीले जाँच गर्छन, जाँचपछि कन्टेनर र चालकलाई पूरा स्प्रे गरेर भन्सार गेटभित्र अनुमति दिने गरिएको छ”, भन्सारका अधिकृत गोपाल शर्माले भने। बन्दाबन्दीपछि भारतीय बजारबाट खाद्यान्न, तरकारी, फलफूल, डिजल, पेट्रोल, ग्यासलगायतका सामान बोकेका कन्टेनर दैनिक आउने गरेका छन् ।