भूकम्पमा ८२ घण्टा सम्म थिचिएर पनि बाँचेका ऋषि खनाललाई अहिले मर्नू न बाँच्नू !

अर्घाखाँची – भूमिकास्थान नगरपालिका १ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ । काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो तर माथिल्लो चार तला कायमै थियो । विसं २०७२ को गोरखा भूकम्पमा ८२ घण्टापछि भेटिनुभएका खनालको जीवितै उद्धार गरिएको थियो । सशस्त्र प्रहरी, फ्रान्सेली तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरिएको थियो । खनालले आफू बाँच्नका लागि पिसाबसमेत खाएका थिए । उनले भित्रबाट सानोसानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए ।

ती अचम्मका युवक खनाल अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन्। विदेश गएर पैसा कमाउने र आफ्नो सुखी परिवार बनाउने सपना बोकेर उनी अर्घाखाँचीबाट काठमाडौँ गएका थिए । फर्कँदा देब्रे खुट्टा काटिएका उनले भने, “छोरो कसरी पढाउने भन्ने चिन्ता छ ।” गाउँकै अङ्ग्रेजी विद्यालयमा डेढ वर्ष पढाए पनि छोराको शुल्क तिर्न नसकेर सामुदायिक विद्यालयमा पढाउनुपरेको घाइते खनालकी पत्नी कविता बताउँछन्।

उनले भूकम्पमा परेर अङ्गभङ्ग भएका साथीहरुसँगै मिलेर आफूले पनि कुनै सीप सिकेर जीविकोपार्जन गर्ने चाहना व्यक्त गरे। काठमाडौँमा विभिन्न संघसस्थाले निःशुल्क सीपमूलक तालीम दिने बताए पनि आफूले अहिलेसम्म कुनै अवसर नपाएको उनले बताए। “म बाँचेकोभन्दा पनि पत्नी र छोराको भविष्य सोचेर चिन्तित छु । मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्ने, यही चिन्ता छ, म मर्नु न बाँच्नु पो भएँ त ”, उनले गुनासो गरे।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७१०:०२

“हिम्मत गर्नुस्, ६१ वर्षकी बूढीले त कोरोना जितेँ” [अन्तर्वार्ता]