काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भईरहेको छ । नेकपाभित्रैकै विभिन्न गुटका नेताहरु एकले अर्कालाई विपक्षी दलको भन्दा चर्का आरोपप्रत्यारोप गरिरहेका छन् । विवाद यो विन्दुसम्म पुगेको छ कि कतिपयले घोषित रुपमै सरकारको बैधानिकता गुम्यो भनेर टिप्पणी गरिसकेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पछिल्लो पटक भने अध्यादेश र एक सांसदको ‘अ-पहरण’ भनिएको सन्र्दभमा गुटका नेता तथा कार्यकर्ता भिडेका हुन् । नेकपाभित्रको विवाद यो पहिलो पटक भने होइन् । एकता घोषणा भएको दुई वर्ष पुग्न लागेका बेला नेकपाभित्र विवादको श्रृखला भने लामो छ । नेकपामा महत्वपूर्ण प्रभाव राख्ने तीन गुट छन् भने अन्य सहायक गुट निक्कै छन् ।
प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल मुख्य तीन गुट हुन् । पार्टी एकता हुँदाको बखत ओली–प्रचण्डबीचको सम्बन्ध निक्कै सुमधुर थियो । त्यस बेला नेपाल आफ्नो छुट्टै गुटमा ओली–प्रचण्डविरुद्ध लडिरहेका थिए । पार्टी एकताको मुख्य जस दुई शिर्ष नेताले लिएपछि उनि आफ्नो जिम्मेवारीलाई घटाउन खोजिएको भन्दै असन्तुष्ट थिए ।
विगतमा एमालेमा हुँदा देखी रहेको ओली र नेपालको टकरावको असर नेकपाको शुरुमै देखियो । माओवादीबाट आउँदा भने प्रचण्ड एक्लो गुट जस्तो थिए, किनकी उनिसँग तत्कालिन माओवादीमा हुँदा विमति राख्नेहरु डा.बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दहरु पहिला नै पार्टी छाडेर हिडिसकेका थिए । अन्य केही सानातिना गुट भएपनि उनिहरु पार्टीभित्र बहुमत राख्न सक्ने हैसियतका थिएनन् ।
नेकपाको गठन भएपछि ओली र नेपाल विस्तारै प्रचण्डलाई आफ्नो पकडमा ल्याउदै एक अर्काविरुद्ध प्रयोग गर्न थाले । जसले गर्दा नेपालको नेकपामा तेस्रो वरियता खोसियो । वरियता खोसिएपछि नेपालले पनि ओलीविरुद्ध प्रचण्ड गुट प्रयोग गर्न थाले । जसको फाइदा प्रचण्ड स्वयमले पनि लिए । नेकपाकै कतिपय नेताले प्रचण्डले पूर्व एमालेभित्र खेल्न खोजेको गम्भिर आरोप समेत लाग्यो ।
सचिवालय र पार्टी एकता गर्दा जिल्ला र प्रदेशमा दिएको जिम्मेवारीबाट नेपाल असन्तुष्ट बने । उनले आफ्ना मान्छेलाई पाखा लगाइएको भन्दै कतिपय बैठकमा असन्तुष्टि पनि पोखे । जसले गर्दा ओली–नेपालको सम्बन्ध लामो समय नेकपामा पनि चिस्सियो । तर, ओलीले नै सो सम्बन्ध सुधारको लागि प्रयास गरे । उनले नेपाललाई बालुवाटार बोलाएर निरन्तर छलफल गरे । कतिसम्म भने कतिपय त दिनमै करिव ५ घण्टासम्म वार्ता गरे । त्यसपछि नेकपाको राजनीतिमा फेरी ओली–प्रचण्ड गुटको टकराव चल्यो । यो विषय बाहिर आउने गरी भने एमसीसी प्रकरणबाट देखियो ।
एमसीसी प्रकरणबाट शुरु भएको टकराव, सभामुख चयन, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने विषय, राष्ट्र बैंकको गर्भनर नियुक्त, कोरोनाविरुद्ध उच्चस्तरीय राजनीतिक संयन्त्र हुँदै पछिल्लो पटक अध्यादेश प्रकरणमा आईपुगेको छ । यी प्रकरणमा महत्वपूर्ण गुटका रुपमा उभिएका नेपालले मध्यस्थताको भूमिकामा देखा परे । उनलाई विगत लामो समयदेखी दुवैपक्ष ढल्ने तर, आफ्नो अडान नलिने नेता भनेर आरोप समेत लाग्दै आएको छ । जुन उनले यहा पनि देखाएको कतिपय नेताको बुझाई छ ।
यसबीचमा ओलीलाई पाच वर्ष सरकारको जिम्मेवारी दिएर पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहेका प्रचण्ड प्रधानमन्त्री ओलीको गतिविधिबाट असन्तुष्ट रहेका छन् । यद्यपी उनले यो विषय सार्वजनिक रुपमा खुलस्त नभनेपनि उनले दुई पटक आफ्नै पहलमा गौतम निवास भैसेपाटीमा सचिवालयका सदस्यसँग सामुहिक छलफल गरिसकेका छन् । जुन ओली पक्षलाई तर्साउन गरेपनि त्यसको लाभ लिन भने सफल भएका छन् ।
अध्यादेश काण्डपछि भने विगतमा खुल्न नसकेका नेकपाका ओलीइत्तरका नेताहरु प्रधानमन्त्रीको राजिनामा माग गर्न थालेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटि बैठक बोलाउनुपर्ने र प्रधानमन्त्रीको विषय सोही बैठकले निर्णय गर्ने बताए । उनले घुमाउरो भाषामा ओलीको राजिनामा माग गर्दै व्यक्तिको लहडमा पार्टीमा लाग्न नसक्ने भन्दै स्थायी कमिटिले जुनसुकै निर्णय गर्न सक्ने बताए । ‘अब स्थायी कमिटी बैठक बस्छ । तुरून्तै बैठक बोलाउनुपर्छ,’ खनालले भने, ‘त्यही बैठकले सबै कुरा निर्णय गर्छ । अब पार्टीले के कदम चाल्छ भन्ने कुरा त्यहीबाट टुंगो लगाउनुपर्छ ।’
यसविषयमा ओली पक्षका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । दोस्रो तहका नेताहरुले भने अध्यादेशको खुलेर बचाउ गरेका थिए । उनिहरुले नैतिकताको प्रश्न उठाउनेहरुले आफ्नो विगतलाई पनि हेर्नुपर्ने अभिव्यक्ति दिएका छन् । तर, प्रधानमन्त्री ओली भने तत्काल स्थायी कमिटी बैठक बोलाउने पक्षमा देखिएका छैनन । यद्यपी उनले सचिवालय सदस्यहरुसग भने निरन्तर छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छुट्टा छुट्टै छलफल गरेका छन् । उनले छलफलमा पछिल्लो राजनीतिक अवस्था र अब चाल्ने कदमका विषयमा कुराकानी गरेका हुन् । प्रदेश–५ का मुख्यमन्त्री एंव स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको बताएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले प्रचण्ड–नेपाल समुहले चाल्ने कदमलाई पर्ख र हेरको अवस्थामा रहेको बताएको छ । उनिहरुले चाल्ने कदम अनुसार आफ्नो रणनीति बनाउने ओली पक्षको तयारी रहेको छ । शिर्ष नेताहरुले एकले अर्काका विरुद्ध सार्वजनिक रुपमा नबोलेपनि भित्रि रुपमा पकड बलियो बनाउने रणनीतिमा लागेका छन् । जसको असर, नेता कार्यकर्ता भने सामाजिक सञ्जालमा पोखिएका छन् । विपक्षी नेपाली कांग्रेसले समेत राजिनामा माग नगरिरहेका बेला नेकपाकै नेता कार्यकर्ता एक कदम अगाडी बढेर राजिनामाको माग उठाइरहेका छन् । त्यस्तै ओली पक्षका नेता कार्यकर्ता त्यसको विरोध गर्दै प्रतिवादमा उत्रिएका छन् ।