८ पूर्व प्रम/उप्रम/मन्त्री, ६ सांसद बोकेर जाँदा पनि उजुरी दर्ता भएन, भट्टराईले यसरी पोखे आक्रोश

फाइल तस्बिर

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई सांसद र पूर्वप्रहरी महानिरीक्षक विरुद्ध प्रहरीमा उजुरी दिने सांसद सुरेन्द्र यादवको योजना असफल भएको छ।

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका विभिन्न नेताहरु सहित महानगरीय प्रहरी परिसर टेकु पुगेपनि उनको उजुरी दर्ता हुन सकेन ।

महानगरीय प्रहरी परिसर टेकुमा दुई घण्टा रहँदा पनि उनको उजुरी दर्ता भएन। घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने प्रहरीको हठ पछि उजुरी दर्ता नै नगरी जनता समाजवादीका नेताहरु फर्किन बाध्य भए।

टेकुबाट फर्किने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देशमा ओलीतन्त्र रहेको र ओलीतन्त्र मूल्य मान्यता, विधिविधान, कानुन सबै लत्याएको आरोप लगाए। प्रधानमन्त्री ओली आफैं यस्तो काण्डमा मुछिएको हुँदा उनले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेको आरोप लगाए।

यस्तै भट्टराईले महानगरीय प्रहरी परिसर टेकुबाट बाहिरिए लगतै एक ट्वीट गर्दै ८जना पूर्व प्रम/उप्रम/मन्त्री तथा ६जना वहालवाला सांसद र दर्जनौं पत्रकारको उपस्थितिमा समेत उजुरी दर्ता नहुनुले गम्भीर प्रश्न खडा भएको बताएका छन्।

“८जना पूर्व प्रम/उप्रम/मन्त्री तथा ६जना वहालवाला सांसद र दर्जनौं पत्रकार सहित देशको राजधानीमै अ-पहर-ण जस्तो सरकारवादी मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले ठाडै म लिन्न जानेको गर भन्न सक्छ भने दूरदराजका गाउँमा निर्धानिमुखा जनताले कस्तो न्याय पाउलान्?मुद्दा ठीक वेठीक त पछि छुट्टिन्छ नि!”,ट्वीट गर्दै भट्टराईले लेखेका छन्।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१३:४८

लायन्स क्लबबाट मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान