एजेन्सी – भारतमा एक तीन महिने बालिकाले पनि कोरोना जित्न सफल भएकी छन् । भारत उत्तर प्रदेश स्थिति बस्तीकी तीन महिने बालिकाले कोरोना जित्न सफल भएकी हुन्।
१३ अप्रिलमा कोरोना पुष्टि भएपछि आरडी मेडिकल कलेज भर्ना गरिएकी ती बालिकामा १४ दिन पछि कोरोना नेगेटिभ देखिएको र दुई पटक सम्म परिक्षण गरेपछि डिस्चार्ज गरिएको भारतका संचार माध्यमहरुले जनाएका छन्।
कोरोना भाइरस पुष्टि भएपछि बालिकालाई कोरोना वार्डमा आइसोलेट गरिएको थियो। आइसोलेसनमा रहेकी ती बालिकाको विशेष हेरचाह सहित उपचार गरिएको थियो।
३ महिने शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउन आमाको दुध अनिवार्य रहने हुँदा विशेष व्यवस्था गरी दुध पिलाउने काम भएको अस्पतालले जनाएको छ। बताइएअनुसार, अस्पतालमा नर्सहरुको सहयोगमा आइसोलेसनमा रहेकी ती बालिकालाई दैनिक आमाले दुध पिलाउने गरेकी थिइन्।
पीपीई (पर्सनल प्रोटेक्शन इक्यूपमेन्ट) लगाएर दैनिक छोरीलाई दुध पिलाएकी ती महिलामा समेत गरिएको कोरोना परिक्षण रोपोर्ट नेगेटिभ आएको छ। २५ र २६ अप्रिलमा गरिएको कोरोना परिक्षणमा आमा छोरी दुवैमा कोरोना नदेखिएपछि बालिकालाई घर पठाइएको बताइएको छ।
आमाको दुध सबैभन्दा ठूलो औषधी
बीआरडी मेडिकल कलेजका प्राचार्य डा। गणेश कुमारका अनुसार बालिकामा कोरोनाको कुनै पनि लक्षण थिएन। यस कारण उनको स्वास्थ्य खासै जटिल हुन नपाएको उनको भनाई छ। उनलाई अस्पतालमा कुनै पनि औषधि नचढाइएको र आमाको दुधले नै औषधिको काम गरेको उनी बताउँछन्।